नाला, काठमाण्डौको पूर्वतिरको रहेको प्राचीन ऐतिहासिक शहर हो । यो काठमाण्डौसंगै जोडिएर रहेको भक्तपुरबाट झण्डै दुई कोष टाढा पूर्वतिर अवस्थित छ । यो काभ्रेपलाञ्चोक जिल्लाको सात प्राचीन नेवार बस्तीहरु मध्ये प्रमुख बस्ती भएको कुरा यहाँ रहेका ऐतिहासिक प्रमाणहरुले देखाउँछ । नाला समुद्र सतहबाट करीब १४०० मीटर उचाईमा अवस्थित छ । नालाको दायाँबायाँ नण्यमाता र पुण्यमाता खोलाहरु रहेका छन् । यहाँको हावापानी समशीतोष्ण रहेको छ । यस क्षेत्रलाई चारैतिर हरिया पहाडहरुले घेरिएको छ । यस स्थानमा नेपालका प्रमुख प्रख्यात चार भगवती मध्ये एक उग्रचण्डी भगवती तथा नेपालमा प्रमुख प्रख्यात चार करुणामय मध्ये श्रृष्टीकान्त लोकेश्वर करुणामय पनि यसै स्थानमा रहेका छन् । यहाँ २–३ दशक पहिले “दूध, दही र खुवा” को लागि साह्रै प्रसिद्ध थियो भने हाल आलुको लागि प्रसिद्ध छ । लिच्छवीकालमा हस्त निर्मित बाँसको ढक्की तथा कँलालीको लागि प्रसिद्ध रहेको कुरा इतिहास प्रमाण छन् । मञ्जुश्री उपत्यका प्रवेश गर्दा नालाको बाटोबाटै आएको कुरा इतिहासले देखाउँदछ । नालाको लागन टोल ढुङ्गे धाराको भित्तामा रहेको लिच्छवीकालको ऊँ सम्बत् ११८ (वि.सं.७१५) को शिलापत्रले यहाँको ऐतिहासिक गरिमालाई प्रकाश पार्न मद्दत पु¥याएको छ । नाला विभिन्न समयमा विभिन्न नामाकरण भएको देखिन्छ । लिच्छवीकाल पूर्व सत्ययुगको राजा दीर्घरथको समयमा “नगिरीपुर”, लिच्छवीकालीन राजा शिवदेव द्धितीयको समयमा “नालङ्गग्राम”, मल्लकालीन यक्ष मल्लको समयमा “नालादेश”, आधुनिककालीन समयमा “नाला शहर” नामाकरण भएको पाइन्छ । यहाँको उग्रचण्डीको भजन गीतमा “उत्ररापुर” नाम रहेको पाइन्छ । त्यसकारण यसको नामाकरण र अर्थबारे अझै थप अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
नालामा हालसम्म गढ, पर्खाल, ढुङ्गाको मूल ढोकाहरु, प्रशस्तमात्रामा ढुङ्गेधाराहरु, इनारहरु, मनोरञ्जनको लागि डबलीहरु, सडक चोकमा पाको इँटाले विछ्याएको बाटो, ढलको व्यवस्था भएको, लायकू (दरबार) रहेको अवशेषहरु पाइन्छ । यी प्रमाणहरुले के कुरा पुष्टि गर्दछ भने आधुनिककाल भन्दा पनि परापूर्वकालको (किराँती, लिच्छवी, मल्लकालीन) नाला एक ऐतिहासिक र सुन्दर नगरीको रुपमा विकसित भएको देखिन्छ । अझ यहाँ मनाउने चाडपर्व, अन्य साँस्कृतिक क्रियाकलापहरु अन्य ठाउँको भन्दा पृथक रहेको ती सम्पूर्ण क्रियाकलापहरु बैज्ञानिकतामा सामीप्य रहेको देखिन्छ । यस साँस्कृतिक क्रियाकलापहरुलाई यहाँ रहेको प्राकृतिक वातावरणले सुनमा सुगन्ध थपेको छ । हाल नाला शहरको सम्पूर्ण ऐतिहासिक, पुरातात्विक, धार्मिक, पौराणिक आदि विषयवस्तुहरुलाई फेरि एक पटक अध्ययन अनुसन्धान गर्ने हो भने यहाँबाट पक्कै पनि मानव सभ्यताभित्र लुकेको रहस्मय तथ्यहरु पत्ता लाग्न सक्न कुरामा दुई मत छैन । यहाँका जनश्रुतिहरु, लोक साहित्य, किम्बदन्तीहरु र पौराणिक, ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं किम्बदन्तीयुक्त तथ्यहरुलाई यहाँका भावी पिँढीहरुले बचाई राख्नु नितान्त आवश्यक छ । यस सही कुरालाई मनन गरी हामी सबै लाग्नु पर्ने अति आवश्यक भएको कुरा हामीले भुल्नु हुँदैन । यस कुरालाई भुल्ने हो भने हामी फेरि एक पटकलाई पछि पर्नेछौं । त्यसैले यस भेगका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरु आ–आफ्नो स्वार्थलाई छोडेर आ–आफ्नो मत भिन्नताहरुलाई थाँती राखेर नालाको पुनः विकास निर्माणमा लाग्नु अपरिहार्य भएको छ ।
Shwet Bhairab Fishing Dance
साभारःः नाला समाज, टेलिफोन डाइरेक्टरी–२०५९, रत्न प्रसाद श्रेष्ठ