Friday, April 20, 2012
Saturday, April 14, 2012
उग्रचण्डी नालाका अमूल्य कलात्मक काष्ठकला
नेपाल काष्ठकलामा धनी छ । कलाशास्त्रीका भनाई अनुसार ६४ कला हुन्छन् । तिनीहरुमध्ये एक ललितकला विधामा समेटिएको कला काष्ठकला हो । नेपालमा काष्ठकला प्राचीनकालदेखि नै प्रयोग गरिदैं लिच्छवीकालमा निकै प्रचलित हुँदै मल्लकालमा यसको व्यापक विकास भएको देखिन्छ । पुराना पाटी, पौवा, सत्तल, मन्दिर, विहार, दरबार र घरहरुका झ्यालढोकाहरु, भित्ता तथा तिनमा कुँदिएका आकृतिक, थाम, टुँडाल, दलिन, निदाल, तोरण, मण्डल आदि पुराना काष्ठकलाका उत्कृष्ट नमूना हुन् । यस्ता अमर नमूनाहरु मल्लकालीन समयदेखि अहिलेसम्म पनि केही मात्रामा जीवित अवस्थामा रहेका छन् ।
काभ्रे जिल्लाको उग्रचण्डी नाला शहरका मल्लकालीन उग्रचण्डी भगवती मन्दिर, करुणामय मन्दिर, यस क्षेत्रमा रहेका पाटीपौवा, केही मात्रामा पुराना घरहरुमा रहेका काष्ठ झ्यालहरु हालसम्म पनि देख्न सकिन्छ । नाला क्षेत्रमा रहेका राजकीय दरबार र शहरभित्र पस्ने विभिन्न साता ध्वाकाहरु भने लोप भइसकेका छन् । इतिहासमा उल्लेख भए अनुसार लिच्छवीहरु वैशालीबाट मकवानपुर हुँदै पनौतिबाट नाला हुँदै उपत्यका छिरेका हुन् । उनीहरु कला पारखी भएको हुनाले आपूm जहाँ जहाँ गए, त्यहाँ त्यहाँ आफ्ना कलाका छापहरु छोड्दै गए । लिच्छवीहरु केही समय पनौतिमा रहेर पनि नाला हुँदै भक्तपुर र पाटनमा पनि आफ्नो कलाको प्रदर्शन गरे । हालसम्म पनि नालामा “लिवि छेँ” भन्ने टोल रहे तापनि त्यहाँका लिच्छवीकालीन घर तथा मन्दिरहरुको अवशेषहरु माटोमा विलिन हुन पुगेका छन् । यो बारे आवश्यक खोजी तथा अनुसन्धान गर्नुपर्ने भएको छ । समयसमयमा आउने वातावरणीय परिवर्तन (भूकम्प) र काठको विशेषता आदि कारणहरुले गर्दा लिच्छवीकालीन काष्ठकलाका जीवन्त नमूना अहिले हामी सामु छैनन् ।
लिच्छवीकाल तथा मल्लकालका काष्ठकलाहरु पूर्णतः धार्मिक भावनाबाट प्रेरित भएको देखिन्छ । त्यतिखेर विकसित हुन पुगेका विभिन्न काष्ठकलाका नमूनाहरु शास्त्रीय शैली र धार्मिक घटनासँग सम्बन्धित भएर प्रष्फुटित भएका छन् । नेपाली काष्ठकलामा विभिन्न शैलीको प्रयोग भएको पाइन्छ । विहार शैली, शिखर शैली, आधुनिक शैली आदि विभिन्न मिश्रण पाइन्छ । विहार शैलीमा करुणामय मन्दिर र शिखर शैलीमा उग्रचण्डी भगवती मन्दिरलाई र आधुनिक शैलीमा यहाँ रहेका कलात्मक झ्यालहरु भएका घर तथा पाटीपौवाहरुलाई लिन सकिन्छ ।
मन्दिर तथा घरको छाना अड्याउने काठलाई टुँडाल भनिन्छ । ती टुँडालहरुमा मन्दिर अनुसार सुहाउने विभिन्न देवीदेवताहरुका मूर्तिहरु कुशल कालीगढहरुले आफ्नो दक्षता तथा कुशल काष्ठकला प्रयोग गरिएको पाइन्छ । यसको ज्वलन्त उदाहरण उग्रचण्डी नाला भगवतीको पहिलो तल्लाको अगाडिपट्टिको टुँडाललाई लिन सकिन्छ । उक्त टुँडालमा काठको मूर्ति भए तापनि झ्वाट्ट हेर्दा धातुजस्तो प्रतीत हुन्छ ।
काष्ठकलाको अर्को महत्वपूर्ण नमूना मन्दिरमा रहेको तोरणलाई लिन सकिन्छ । प्रायः जसो तोरण मूल ढोकामाथि तथा कलात्मक झ्यालमाथि राखिने गरिएको पाइन्छ । खासगरी मठमन्दिरको प्रवेशद्वारमा राखिने ‘तोरण’ मा सम्बन्धित देवी वा देवता अर्थात् गृहमा जुन देवी देवताको मूर्ति हुन्छ त्यसैको रुप तोरणको मध्यभागमा अभिव्यक्त गरिएको हुन्छ । जसको उदाहरण भगवती मन्दिरको तोरणलाई लिन सकिन्छ । मध्यभागको वरिपरि ज्वाला, बत्ति वा जालीदार बनाइएका हुन्छन् । पौराणिक जनावरहरुका आकृतिहरु पनि कुँदिएका हुन्छन् ।
काष्ठकलाको उत्कृष्ट कारिगरी ढोकाको चौकोस, ठाम र खापाहरुमा पाइन्छ । त्यसैगरी काष्ठकलाको अर्को नमूनाको रुपमा झ्यालहरुलाई लिन सकिन्छ । मल्लकालमा गो झ्या, पासुका झ्या, सँ झ्या, टिकी झ्या, न्यापाः झ्या, कुँ झ्या, मयूर झ्या आदि झ्यालहरु मन्दिर बाहेक नै सर्वसाधारणका घरहरुमा पाइन्छ । यस्ता झ्याल भएका घरहरुले टोललाई नै शोभा तथा इज्जत बढाई दिन्छ । नाला क्षेत्रमा यस्ता झ्यालहरु टोलैपिच्छे अनगिन्तीरुपमा पाइन्छ । तर पछिल्लो समयमा विस्तारै घरहरुको पुनर्निमाणले यस्ता झ्यालहरु लोप हुँदै गएका उदाहरणहरु प्रशस्त छन् ।
समग्रमा भन्नुपर्दा हाम्रो पुर्खाहरुले छोडेर गएका अमूल्य सम्पदाले हामी काष्ठकलामा धनी भएको पुष्टि गर्दछ । यस्ता पुराना नेपाली काष्ठकलालाई जोगाई राख्न र देश विदेशमा समेत पु¥याउन यसको व्यापक प्रयोग गरेर यसको संरक्षण गर्नु निकै आवश्यक छ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले प्रत्येक गाउँ विकास समिति, नगरपालिका, जिल्ला विकास समिति आदिले आफ्नो क्षेत्रभित्र पर्ने ऐतिहासिक, धार्मिक, पुरातात्विक सम्पदाहरुको संरक्षण गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ तर त्यो व्याख्या केवल कानूनी किताबमा मात्र सीमित रहेको छ । त्यसलाई हामीले सक्रियताका साथ कार्यान्वयन गर्नु पर्दछ । काष्ठकला पर्यटन व्यवसायमा गन्तव्यस्थलका रुपमा परिचित हुँदै आएको छ । मौलिक संस्कृतिको धनी नेपाल आफ्नै किसिमका कलाका कारण संस्कृतिका क्षेत्रमा विश्वमा आपूmलाई चिनाउन सफल भएको छ । त्यसैले काष्ठकलाको व्यापक प्रयोग गरेर आफ्नो कलाको संरक्षण गर्न निकै आवश्यक छ ।
Subscribe to:
Posts (Atom)