Saturday, March 30, 2013

स्व. कृष्णप्रसाद किसी श्रेष्ठ


काभ्रे जिल्ला, उग्रचण्डी गा.वि.स.नाला इपाटोल वडा नं. ३ बस्ने पूर्णबहादुर श्रेष्ठ र राममाया श्रेष्ठको कोखबाट वि.सं.२००४ साल भाद्र १ गते जन्मनु भएका श्री कृष्णप्रसाद किसी श्रेष्ठ नाटककार तथा निर्देशक हुनुहुन्थ्यो । उहाँले दर्जनौ नाटकहरुको रचना तथा निर्देशन गरेर नालावासीहरु माझमा सफलतापूर्वक देखाइसक्नु भएको थियो ।
उहाँका ६ जना छोरीहरु कमला, कविता, बबिता, शुष्मा, सरस्वती र सावित्री तथा एक छोरा विकास छन् । शिक्षाको नाममा उहाँले कक्षा ७ सम्ममात्र अध्ययन गर्नु भए तापनि तिखो बुद्धि र बहुप्रतिभाका धनी श्री कृष्णप्रसाद किसी श्रेष्ठले नाटक मात्र होइन, गीत, कविता, प्रहशन, व्यङ्ग्य लेख, निबन्ध र भजनहरु प्नि रचना गर्नु भएको थियो । उहाँका रचनाहरु प्रकाशनको अभावमा मक्किरहेका छन् भने कतिपय रचनाहरु हराइरहेका छन् । जति मात्रामा दर्शकको मन रुवाउन सक्षम हुनुहुन्थयो– उतिकै मात्रामा पेट मिचिमिचि हँसाउन सक्नु उहाँको विशेषता थियो । उहाँ स–साना केटाकेटीहरुदेखि लिएर बुढाबुढीहरुमाझ पनि उतिकै लोकप्रिय हुनुहुन्थयो । आफ्नो संस्कृतिलाई बिर्सनु हुन्न, यी पुर्खाले दिएका सम्पति हुन् भन्ने धारणा राख्नु हुने उहाँ प्रत्येक वर्ष गाईजात्रामा कुनै न कुनै प्रहशन तथा तीखो व्यङ्ग्य लिएर दर्शकमाझमा आउनु हुन्थ्यो ।
उहाँका नाटकहरुमा दुःखी गरीबहरुको कथा र व्यथा यथार्थरुपमा प्रस्तुत भएको पाइन्छ । नाटक गाउँले जनजीवनमा घटेको सत्य घटनाहरुलाई बढी रोचक र सशक्त रुपमा प्रस्तुत गर्न सक्ने क्षमता उहाँमा थियो । उहाँ रचना गर्न जति सिपालु हुनुहुन्थ्यो, त्यतिकै मात्रामा नाटक निर्देशन, नृत्य, संगीतमा पनि दक्ष हुनुहुन्थ्यो । मृदुभाषी, मिलनसार, परिश्रमी, शोषकदेखि डराउनु हुन्न, अन्यायमा निर्भिक भएर बोल्नुपर्छ भन्ने भावना राख्नु हुने श्री कृष्णप्रसाद किसी श्रेष्ठ हामीबाट सदाको लागि वि.सं. २०५१ साल फागुन २९ गते बिदा लिई सक्नु भएको छ ।
उहाँले रचना तथा निर्देशन गर्नु भएका केही नाटकहरु निम्न प्रकारका छन् ः
क. “नमूना” नाटक – वि.सं. २०२७ साल
ख. “सत्य हरिश्चन्द्र” नाटक – वि.सं. २०२८ साल
ग. “अमर प्रेम” नाटक – वि.सं. २०३१ साल
घ. “काँडाको झ्याङ्ग” नाटक – वि.सं. २०३२ साल
ङ. “फाटेको टोपी” नाटक – वि.सं. २०३३ साल
च. “झरेको आँसु चुहेको पसिना” नाटक – वि.सं. २०३८ साल
छ. “एक हाँस्छ अनेक रुन्छ” नाटक – वि.सं. २०४३ साल
ज. “महामाया भगवती” नाटक – वि.सं. २०४४ साल
झ. “खोजतलास, खतम खलास्” नाटक – वि.सं. २०४५ साल

स्मरणीय रहोस्, उहाँका नाटकहरु “काँडाको झ्याङ्ग, फाटेको टोपी, झरेको आँसु चुहेको पसिना, एक हाँस्छ अनेक रुन्छ आदि नाटकहरुलाई विभिन्न ठाउँमा प्रर्दशनका लागि अनुरोध आएका थिए । तर महिला कलाकारको अभाव र पञ्चायती कालरात्रीको कारणले उहाँले देखाउन सक्नु भएन । जेहोस्, उहाँका रचनाहरुलाई सधैंभरि र सबैकालागि जीवन्तता दिन तिनको प्रकाशन गर्नुपर्ने देखिन्छ ।

(साभार ः रत्नप्रसाद अनामणि श्रेष्ठ, जनमत साहित्यिक मासिक, वर्ष १२, अंक १२, साहित्यिक अंक ४९)

Saturday, March 23, 2013

नालाको इतिहासलाई कोट्याउँदा

उपत्यका बाहिरका प्राचीन नगरहरुमध्ये नाला पनि एक मानिएको छ । नाला नेपालका चार प्रसिद्ध करुणामध्ये एक र प्रसिद्ध चार भगवतीहरु मध्ये नेपाल भरकै पहिलो चारतले उग्रचण्डी भगवतीको बासस्थानले गर्दा अति धार्मिक तीर्थस्थल र प्राचीनकालमा “उत्तरपुर” कहलिएको यो शहर सत्ययुगमा राजा दीर्घरथको समयमा “नगिरीपुर” नामले प्रसिद्ध भयो । यसको ॐ सम्वत ११८ वि.सं. ७५१ म राजा शिवदेव द्धितीयको पालामा “नालाङ्गग्राम” शब्दबाट “नालादेश” नामाकरण हुन पुगेको अनुमान गरिएको पाइन्छ । त्यसताका नाला प्राचीन सातगाउँ धुलिखेल, चौकोट, पनौती, खड्पु, साँगा, बनेपा, मध्येको एक गाउँ थियो । यहाँ लिच्छवी कालभन्दा पूर्व राजा दीर्घरथले शासन जमाएका थिए र त्यसबेला यसलाई “नगिरीपूर” भनिन्थ्यो । लिच्छवीकालमा शिवदेव द्वितीयको शासन चल्दा यसलाई “नालाङ्गग्राम” भनियो र मल्लकालमा आएर यक्ष मल्लका पालाबाट “नाला” भनिएको पाइन्छ । त्यतिबेला यहाँ ५०० घर थिए र “५०० नाला” भनिन्थ्यो, जुन अहिले पनि भनिन्छ नै ।

“नाला” उपत्यका भन्दा लगत्तै बाहिर राजधानीबाट २० किमी पूर्व कुनामा रहेको सानो नगर हो, जुन समुद्र तिहदेखि करीब १४६३ मिटर उचाईमा रहेको छ । नालामा विद्यमान प्राचीन किम्वदन्तीलाई कोट्याउँदा सत्य युगमा यहाँ अवस्थित तपोवन (हालको बुले वन) मा ऋषि महिर्षहरु आई तपस्या गर्ने गर्दथे भनिन्छ । वाल्मिकी ऋषिले पनि यसै तपोवनमा आइ तपस्या गरेर वाल्मिकी बने र हालको दुलाल गाउँमा गई कलममा पसी चोपि रामायणको कथा लेख्न शुरु गरे रे । त्यसकारण अहिले पनि त्यो ठाउँलाई “कलममसीको डाँडा” भनिन्छ । यहाँ पञ्च पाण्डवहरु मध्येका जेठा युधिष्ठिरको मन्दिर पनि छ । स्वर्ग जाने क्रममा पञ्च पाण्डवहरु यहाँ बास बसेर गएका थिए रे भन्ने सुनिन्छ ।

यहाँ प्राचीनकालदेखि कुन समय कस्ले शासन ग¥यो भन्ने कुनै इतिहास पाइन्न । तर लिच्छवी कालमा भने यो देश छुट्टै यिो र यहाँको आफ्नै मुद्रा थियो भन्ने कुरा स्पष्ट भएको छ । जुन मुद्रा अहिले पनि वसन्तपुरको संग्रहालयमा सुरक्षित छ । जुन दुईवटा छ र माटाको जस्तै देखिन्छ । लिच्छवीकालमा भने नरेन्द्रदेवका कान्छा छोरा शिवदेव द्वितीयले वि.सं. ७४२ तिर शासन सम्हालेदेखि नाला मै बसी राजकाज चलाएको देखिन्छ । यसको प्रमाण भएको पहिलो अभिलेख वि.सं. ७५१ को नाला अभिलेख हो । नाला लगनटोलमा शिवदेव द्वितीयका रैतिले राखेको अभिलेखमा यो कुरा उल्लेख गरिएको पाइन्छ । त्यसपछि सामान्यतया भक्तपुरमा जो राजा हुन्थ्यो, उसैको राज्यमा नाला गाभिएर वा बेलाबखत छुट्टै भएर पनि चलेको प्रमाणहरु पाइएका छन् । वि.सं. ७४२ पछि नालामा को राजा भयो त्यसको कुनै यथेष्ट प्रमाण पाइएको छैन । तरपनि वि.सं. १२०३ मा आफ्नो ४७ वर्षको उमेरमा राजा आनन्ददेव नालाका राजा भएको देखिन्छ । उनले वि.सं. १२२३ सम्म मात्र नालाको राजकाज चलाए । पछि वि.सं.१४११ मा भने जयस्थिति मल्ल विवाह गरेर राजल्लदेवीका पति भएर रहेका बेला नालामा अर्जुन मल्ल राजा भएको देखिन्छ । त्यो कुरा जयस्थिति मल्लको एउटा शिलालेखमा वि.सं. १४३७ मार्गमा अर्जुन मल्ललाई स–सम्मान सिन्दुरे जात्रा गरेर उनको दरबार नाला पठाइयो भनेर उल्लेख गरेको पाइन्छ । पछि के के उथुलपुथुल भयो त्यो भन्न सकिन्न । तर वि.सं. १५६१ ताका नालामा रण मल्लले राज्य गरे । पछि यक्ष मल्लाका छोरा रत्न मल्लले दाजु राय मल्लको सहयोग सहित भक्तपुर आएका भाइ रण मल्ललाई राँगो लगाएर लखेटी राति नै नाला भञ्याङ्ग कटाए भनी वि.सं. १५६२ को पशुपतिको ताम्रपत्रमा उल्लेख गरिएको छ ।

वि.सं. १७२८ ताका नाला भक्तपुरको अधिनमा थियो । यहाँ राजा जगतप्रकाश मल्ल थिए । कान्तिपुरमा भने प्रताप मल्ल राजा थिए । उनले पनि नालामा शासन गरे । तर कति समय गरे भन्ने प्रमाण पाइएको छैन । जे होस् उनले वि.सं. १७२७ मा “रानीपोखरी” निर्माण गरी सकेर नाला र आसपासका क्षेत्र कब्जा गरे । त्यतिबेला ललितपुरका राजा श्रीनिवास मल्लको शरण जगतप्रकाश मल्ल पुगे र दुवै मिली राति नै गएर नाला प्रताप मल्लबाट फिर्ता लिएपछि यो पुनः भक्तपुरमा गाभिएको देखिन्छ । वि.सं. १७२९ को मंसिरमा जगतप्रकाश मल्ल मरेपछि जितामित्र मल्ल नाला क्षेत्रका राजा भएको पाइन्छ ।

वि.सं. १७९६ मा नाला समेतका राजा रणजित मल्लले ल्याइतेपट्टिका दुईवर्षे छोरालाई “युवराज” घोषित गर्न खोजे । सो कुरा नालावासी जनताहरुले थाहा पाई ब्याइते महारानीका छोरालाई नै युवराज घोषित गर्न दवाव दिए । पछि राजाले प्रजाको दवाव अनुसार गरेपनि रानीलाई दरबार पस्न दिएनन् र उनी माइती नालामै बस्न आइन् । वास्तवमा तिनै युवराज पृथ्वीनारायण शाहका मित वीर नरसिंह मल्ल हुन् । त्यसपछि नेपाल एकिकरणको क्रमम वि.सं. १८१६ मा रणजित मल्लको शासन चलेको बेला रामकृष्ण कुँवरको नेतृत्वमा आएको गोर्खाली फौजले नाला राज्यलाई एकिकरणको मूलधारमा समाहित गराएको थियो । त्यसपछिको एउटा रोचक पक्ष के छ भने वि.सं. १८६२ ताका रणबहादुर शाहको शासनकालमा ब्राम्हण जातिमा पनि मामाकी छोरी विवाह गर्ने र देवरले भाउजू बेहोर्ने प्रथा कायमै थियो । भिमसेन थापाको सल्लाह लिई राजा रणबहादुर शाहले नाला लगायत सात गाउँबाटै यो प्रथामाथि रोक लगाएका थिए ।

यसरी प्राचीनकाल देखि हालसम्म आउँदा नालामा अनेक उथलपुथल भएको अनुमान लगाउन सकिन्छ । बेलाबखत आउने महामारीले समेत नालालाई आक्रान्त पारेका प्रमाणहरु इदाकदा भेटिइरहेका छन् । नालाको पुण्यमति र नन्यमति बीचको भागमा गोरु जोत्न नहुने, ढिकी राख्न नहुने भन्ने चलन अहिलेसम्मै विद्यमान रहेको देखिन्छ ।
साभार ः विश्वनाथ दाहाल
काभ्रे टाइम्स