Thursday, January 26, 2012

Saturday, January 14, 2012

नालाको शिवदेव द्वितीयको पालाको अभिलेख

भक्तपुरभन्दा दुई कोष जति पूर्वपट्टि नाला शहर छ । त्यहाँ लगनटोलमा भगवतीको मन्दिर अगाडि ढुङ्गेधारा छ जसको दाँयापट्टिको पर्खालमा टाँसिइरहेको सानो जलद्रोणी जस्तो ढुङ्गामा यो अभिलेख कुँदिएको छ । सो अभिलेख कुँदिएको भाग १९ अङ्गुल लामो, चार अङ्गुल चौडा छ । यहाँ सम्वत् ११८ कुँदिएको छ ।

“अभिलेख–संग्रह” ५ भागमा संशोधन मण्डलद्वारा यो छापिएको छ।  

मूलपाठ
१. ऊँ सम्वत् ११८ जेष्ठ शुक्लदशम्याम् राजाधिराज श्रीशिवदेवस्य राज्यम् 
२. उपरिमनालङ्गग्रामस्योपभो (गा) थर्मतत्रैव ग्रामाधिवासी हुँध्रुवशीलस्य, 
३. तद्भ्राता हूंअणङ्गशोलसहितेन पुण्याधिकार प्रणाली कृता ।  

अनुवाद
ऊँ सम्वत् ११८ ज्येष्ठ शुक्लदशमीको दिन महाराधिराज श्रीशिवदेवको राज्यमा उपरिम नालङ्गग्रामको भोगचलनको लागि त्यही ग्राममा बस्ने हूँ ध्रुवशील र तिनका भाई हुँ अनङ्गशीलले समेत यो पुण्य दिने धारा बनाएका हुन् ।  

व्याख्या
नालङ्गग्राम (नाला) मा बस्ने हुँ ध्रुवशील र उनका भाई हुँ अनङ्गशील मिली सम्वत् ११८ मा धारा बनाएको कुरा यस अभिलेखमा उल्लेख गरिएको छ । त्यसबेला गद्दीमा राजा शिवदेव थिए भन्ने कुरा यसबाट थाहा पाइन्छ । नाला भगवती मन्दिरको अगाडिको वर्तमान ढुङ्गेधारा नै हुँ ध्रुवशील र हुँ अनङ्गशीलले बनाएका हुन् भन्ने कुरा यो अभिलेख यहाँ पाइएको हुनाले थाहा पाइन्छ ।

साभारः नालादेशको परिचय–२०५०, डा.ज्ञानलाल श्रेष्ठ, जीतलाल श्रेष्ठ

नालाको विस्मृतिका गर्भमा लुकेर रहेको सुरुङ्ग


– रत्नप्रसाद अनामणि श्रेष्ठ
उग्रचण्डी नाला–२, टुपिचाटोल

नालाको सांस्कृतिक इतिहास पनि संसारका अरु प्राचीन ठाउँहरुको इतिहास जस्तै अनेक मन्दिर, देवालय, ढुङ्गेधारा, स्तुप, डबली, इनार, पाटीपौवासँग अनगिन्ती कथा, किंवदन्ती र पौराणिक क्रियाकलापहरुले भरिपूर्ण छ । यहाँका जनमानसमा तथा वरपरका गाउँ र नगरहरुमा समेत ती कुराहरुले गहिरो छाप पारेता पनि पुरातात्विक प्रमाणहरुका अभावले तिनीहरुको बैज्ञानिक पुष्टि हुन बाँकी रहेको छ ।

नाला शहर प्राचीन कालदेखि हालसम्म पनि नेवार जातिले बसोबास गरेको एक विशुद्ध नेवारी बस्ती हो । यहाँ रहेको पुरानो सुरुङ्गलाई साँच्चिकै बैज्ञानिक ढङ्गले उत्खनन र अनुसन्धान गर्ने हो भने हजारौं वर्ष अघिका मानव सभ्यताको इतिहास अब उज्यालो पार्न नसकिएला भन्न सकिन्न । यस्ता उत्खनन कार्य जारी गर्ने हो भने त्यहाँ रहेका प्राचीन सभ्यताका अवशेषहरुद्वारा आजसम्म पनि नसुनिएका, अज्ञात, विस्मृतिका गर्भमा लुकेर रहेका अनगिन्ति अमूल्य चीजहरु भेटिने आशा गर्न सकिन्छ, जुन बस्तुले आजको बैज्ञानिक युगका पुरातत्वविद तथा मानवशास्त्रका विद्वानहरुले पनि जिब्रो टोक्नु पर्ने हुन्छ । सुरुङ्ग रहेको स्थान प्राचीन वस्तु नालाका सिरानमा अथवा उग्रचण्डी भगवती मन्दिरको दाहिने लगनटोल र गंशटोलको बीचमा पर्न आउँछ । यो स्थान उग्रचण्डी नाला गाविस वडा नं. ४ मा पर्दछ । हरेक वर्ष यसै सुरुङ्ग अगाडि नालाको सबैभन्दा ठूलो जात्रा महालक्ष्मीको समापन कार्यक्रम हुन्छ । त्यसबेला महालक्ष्मीको रथका साथै अन्य रथहरु एक आपसमा जुधाएर वर्षभरिको लागि बिदाई हुने अन्तिम भेटको कार्यक्रम हुन्छ । सुरुङ्गको दाँया गंश टोलको ढुङ्गेधारा, बाँया भगवतीको ढुङ्गेधारा र ठीक तल अर्थात मुनि इपाटोलको ढुङ्गेधाराहरु रहेको हुनाले पनि 
सुरुङ्गभित्रको खानेपानी व्यवस्थालाई व्यवस्थित पारेको हो भन्ने अड्कल काट्न यथेष्ट प्रमाण मिल्दछ ।

सुरुङ्गको माथि सतहमा हालसम्म पनि स्पष्ट देख्न सकिने गरी करीब १०० मीटरसम्म पाको ईँटाले उत्तरबाट दक्षिणतिर भिरालो हुने गरी करीब ६० डिग्रीको कोणमा छापेको छ । सुरुङ्गमा घाम सिधै भित्रसम्म प्रवेश होस् भन्ने हेतुले सुरुङ्गको मूल ढोकाको (गेट) ठीक अगाडि कुनै घरहरु निर्माण भएको छैन । बरु त्यहाँ अरु वरपरका ठाउँहरु भन्दा फराकिलो र खुल्ला रहेको पाइन्छ । सुरुङ्गको माथि सुरक्षामा टेवा पु¥याउन अथवा तान्त्रिक शक्तिको दृष्टिकोणले “कालीका” मूर्ति स्थापना गरिएको हालसम्म पनि देख्न सकिन्छ । सुरुङ्गबाट पूर्व, पश्चिम, उत्तर, दक्षिण जुनसुकै स्थानमा जान पनि बाटोको सुविधा देखिन्छ । सुरुङ्गको मूल ढोका दक्षिणाभिमुख रहेकोले सूर्यको प्रकाश भित्रसम्म जानसक्छ । हाल सुरुङ्गलाई ठूलो ढुङ्गाले बन्द गरि राखिएको छ ।

प्राकृतिक वातावरणको दृष्टिकोणले पनि महत्वपूर्ण र स्वच्छ स्थानमा सुरुङ्ग रहेको देखिन्छ । सुरुङ्गको दाहिले पुण्यमाता नदी र बाँया नन्देमाता नदी पर्दछ । त्यस्तै सुरुङ्ग माथि रमणीय जंगल कालिका वन पर्दछ । हाल उक्त वन रहको स्थानमा सिद्धार्थ विश्व विद्यालयको प्रथम भवन सुगन्धकुटी विहार निर्माणाधीन अवस्थामा रहेको छ । धार्मिक दृष्टिकोणले हेर्ने हो भने पनि सो सुरुङ्गको दाँया श्री श्रृष्टिकान्त लोकेश्वर (जुन नेपालका चार प्रसिद्ध करुणामयहरु मध्ये एक) र बाँया उग्रचण्डी भगवती (जुन नेपालका चार प्रसिद्ध भगवतीहरु मध्ये एक) रहेका छन् । सुरुङ्गको सीधै मुनि अशोक चैत्य रहेको छ । सम्भवतः महामञ्जुश्रीले उपत्यका प्रवेश गर्नुभन्दा अगाडि यही सुरुङ्ग (गुफा) मा रातमा बास बसी अर्कोदिन बागेश्वरी डाँडाबाट उपत्यकाको दहलाई दृष्टिगत गरी उक्त दहको पानी खोल्ने योजना बनाएको हुनु पर्दछ । नाला, बनेपा वरपरका मानिसहरुले “ल्हासा पासा ससुद्य” भनी पुजा अर्चना गर्ने चलन आज पनि कायमै छ । ल्हासा पासाको शाब्दिक अर्थ चीनको स्वशासित क्षेत्र तिब्बतको प्रमुख शहर ल्हासाबाट आएको साथी भन्ने बुझिन्छ । मञ्जुश्रीलाई विद्याकी देवीको प्रतीकको रुपमा मानिन्छ । उनै मञ्जुश्रीले उपत्यकाको पानी चोभारको डाँडा खड्गले काटी पानी बाहिर पठाई बस्न योग्य उपत्यका बनाएको कुरा इतिहासमा उल्लेख गरिएको पाइन्छ ।

समयको परिवर्तनसंगै मान्छेको बस्ती, विचार र सोचाईको प्रगति हुनु स्वभाविकै हो । नेपाल जुनबेला बाइसे, चौबिसे राज्य थिए, त्यसबेला भन्दा पनि अगाडि यो एउटा अस्तित्व बोकेको राज्य थिए होलान् । तिनै राज्यमा बस्ने जनतालाई सुरक्षाको लागि यस्तो भव्य (इलाकुटी गणेशदेखि थाँचो गणेशसम्म) सुरुङ्ग (बङ्कर) निर्माण गरे भन्ने अनुमान गर्न सकिन्छ । आज पनि बुढापाकाहरुको भनाईलाई आधार मान्ने हो भने पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने सिलसिलामा नाला ईलाकालाई आक्रमण गर्दा यहाँका बासिन्दाहरु यही सुरुङ्गमा लुकेका थिए रे ।

जे होस्, सुरुङ्ग जति भिरालो पाखोको भित्र छिपेको छ, त्यत्तिकै यसको धार्मिक, साँस्कृतिक, पर्यटकीय एवं मानव सभ्यताको महत्व पनि लुकेको छ । यद्यपि, भूगर्भवेत्ता, मानवशास्त्री, इतिहासकार र अनुसन्धानदाताहरुले आ–आफ्नै अर्थ लगाउन सक्लान् तथापि सुरुङ्गभित्र अवलोकन गरिसकेपछि विहङ्गम भव्य दृष्यहरुमा कतिको प्रभाव पार्न सक्छ भन्ने कुरा एक पटक सुरुङ्गभित्र पुग्न चासो राख्नु पर्ला जस्तो छ । ठण्डा दिमागले सोचेर साँच्चै भन्ने हो भने नालाको यस गुफालाई धार्मिक र साँस्कृतिक दृष्टिकोणले मात्र नहेरिकन अरु विविध पक्षमा विशेष गरे विदेशी पर्यटकहरुका लागि एउटा आकर्षक स्थलको रुपमा विकास गर्ने हो भने त्यसको लागि स्थानीय समाजसेवी, धर्मावलम्बी तथा गाविस लगायत सम्बन्धित निकायहरुबाट आवश्यक प्रवन्ध मिलाउनु नितान्त आवश्यक देखिन्छ । आवश्यक प्रवन्ध मिलाएको खण्डमा यो क्षेत्रको भविष्य उज्जवल छ । दुःखलाग्दो कुरो यो छ कि आजसम्म पनि कसैको ध्यान यसतर्फ गएको छैन । हाम्रा अनमोल सम्पदाहरु यसरी सधैंभरी माटोमुनि पुरिएर गर्भमा हराउन लागेको छ । यसलाई सबैको सहयोगाट उत्खनन तथा उत्थान गर्नु आवश्यक देखिन्छ ।

साभारः नाला समाज स्मारिका–२०५८

काभ्रे, उग्रचण्डी नालाको ठूलो चौरमा विमानस्थलका लागि स्थानको खोजी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरुको उच्च चाप हटाउन बैकल्पिक आन्तरिक विमानस्थल आवश्यक भएकोले नयाँ स्थान खोज्ने क्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काभ्रेको तीनवटा स्थानको सम्भाव्यता अध्ययन गरेको थियो । ती स्थानहरुमा पाँचखालस्थित आँपघारी, बनेपाको नागीडाँडा र रायमाझी गाउँ अनुपयुक्त देखिएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । ती स्थानहरु अनुपयुक्त देखिएपछि पुनः अर्को स्थान उग्रचण्डी नालाको ठूलोचौर भन्ने स्थान हेरिएको छ । नागरिक उड्डयन प्राधिकरणले ठूलो चौरको सो स्थानमा करीब १ हजार २ सय ५० मीटर लामो धावन मार्ग बन्न सक्ने देखिएको बताएको छ । दुरी, अनुमानित लागत, जग्गा अधिग्रहण र समतल बनाउनु पर्ने भाग (करीब ३० मीटर) लगायतका काम अघिल्ला तीन स्थानभन्दा कम पर्ने देखिएको छ । मौसम र सहजता दुबै दृष्टिले उपयुक्त देखिएकोले ठूलो चौरलाई नै प्राथमिकतामा राखेर सम्भाव्यता अध्ययन भईरहेको प्राधिकरणका एक उच्च अधिकारीले बताएका छन् । विस्तृत जानकारी सम्भाव्यता अध्ययनको प्रतिवेदन आएपछि मात्र थाहा पाइनेछ । सम्भाव्यता अध्ययनको जिम्मा प्राधिकरणले जोशी एशोशिएट्स कन्सल्ट्यान्टलाई दिएको छ । सो क्षेत्रमा करीब १५ वटा मात्र घरहहरु रहेको छ भने ७० प्रतिशत जग्गा पनि सरकारी रहेको प्राधिकरणले जानकारी दिएको छ । उक्त स्थानमा विमानस्थल बनेमा काभ्रेको भविष्यका साथै उग्रचण्डी नाला वरपरका क्षेत्रको भविष्य पनि सुनिश्चित हुने देखिन्छ । त्यसकारण यस क्षेत्रका बासिन्दाले सो कार्यका लागि आपूmले सक्दो सहयोग र सद्भाव देखाउनु पर्ने जरुरी देखिन्छ । आउँदा दिनहरुमा यसक्षेत्रको भाग्यरेखा नै सो कार्यले कोरिएको होस् ।