Saturday, January 14, 2012

नालाको शिवदेव द्वितीयको पालाको अभिलेख

भक्तपुरभन्दा दुई कोष जति पूर्वपट्टि नाला शहर छ । त्यहाँ लगनटोलमा भगवतीको मन्दिर अगाडि ढुङ्गेधारा छ जसको दाँयापट्टिको पर्खालमा टाँसिइरहेको सानो जलद्रोणी जस्तो ढुङ्गामा यो अभिलेख कुँदिएको छ । सो अभिलेख कुँदिएको भाग १९ अङ्गुल लामो, चार अङ्गुल चौडा छ । यहाँ सम्वत् ११८ कुँदिएको छ ।

“अभिलेख–संग्रह” ५ भागमा संशोधन मण्डलद्वारा यो छापिएको छ।  

मूलपाठ
१. ऊँ सम्वत् ११८ जेष्ठ शुक्लदशम्याम् राजाधिराज श्रीशिवदेवस्य राज्यम् 
२. उपरिमनालङ्गग्रामस्योपभो (गा) थर्मतत्रैव ग्रामाधिवासी हुँध्रुवशीलस्य, 
३. तद्भ्राता हूंअणङ्गशोलसहितेन पुण्याधिकार प्रणाली कृता ।  

अनुवाद
ऊँ सम्वत् ११८ ज्येष्ठ शुक्लदशमीको दिन महाराधिराज श्रीशिवदेवको राज्यमा उपरिम नालङ्गग्रामको भोगचलनको लागि त्यही ग्राममा बस्ने हूँ ध्रुवशील र तिनका भाई हुँ अनङ्गशीलले समेत यो पुण्य दिने धारा बनाएका हुन् ।  

व्याख्या
नालङ्गग्राम (नाला) मा बस्ने हुँ ध्रुवशील र उनका भाई हुँ अनङ्गशील मिली सम्वत् ११८ मा धारा बनाएको कुरा यस अभिलेखमा उल्लेख गरिएको छ । त्यसबेला गद्दीमा राजा शिवदेव थिए भन्ने कुरा यसबाट थाहा पाइन्छ । नाला भगवती मन्दिरको अगाडिको वर्तमान ढुङ्गेधारा नै हुँ ध्रुवशील र हुँ अनङ्गशीलले बनाएका हुन् भन्ने कुरा यो अभिलेख यहाँ पाइएको हुनाले थाहा पाइन्छ ।

साभारः नालादेशको परिचय–२०५०, डा.ज्ञानलाल श्रेष्ठ, जीतलाल श्रेष्ठ

No comments:

Post a Comment