Saturday, February 18, 2012
Friday, February 17, 2012
Wednesday, February 15, 2012
Saturday, February 11, 2012
मस्तिष्कमा बाँचेको नाला
चवन्न सालको पहिलो दिन । तदनुसार २०५४ साल वैशाख १ गते आइतबार । सबेरै शुभकामनाका डिङ्गर सम्वृद्धिका कोसेलीहरु मझेरीमा, दलानमा अनि आँगनमा पनि । वसन्तको मध्याह्न्न । सिरिसिरी हावा । नित्य नवीव चिरन्तन आनन्द । उत्साह र उपमङ्गका उल्लासमय लहर । प्रकृति र जीवनबीचको अनुपम सानिध्य । आकाशमा टालाटुली बादल । बाँकी स्वच्छ सफा नील गगन । वरिपरिका बगे.चामा चराहरुका मधुर कूजन । वसन्तको कोकिलको मीठो स्वर । घरिघरि कुक्कु चराको मधुर आवाज । त्रिपन्न सालका अन्तिम दिनमा रिसाइसकेकी प्रकृति हँसिली खुसिली । मुसुक्क मुस्काएकी । थोरै लजाएकी । यही प्रकृतिमय दुनियाँसँगै हजुरबा (पूर्णप्रकाश नेपाल ‘यात्री’) र नाति (दुर्गाप्रसाद नेपाल) नौ बजेर चालीस मिनेटका घडीमा बाहिरियौं । हामीलाई एघार बजे सभागृह पुग्नु थियो । तोकिएको समयमा उपस्थिति हाम्रो अनिवार्य सर्त हो । दश बजे महाङ्काल पुग्यौं । रत्नपार्कका लागि बस लागिरहेको रहेछ । हामी बसमा उक्लिएर देब्रेतिर तेस्रा सिटमा बस्यौं । बसमा घुँइचो थिएन । त्यहाँ सरस्वती पन्तसँग भेट भयो । नयाँ वर्षको पहिलो दिन भएकोले शुभकामना बाँड्न विलम्ब गरिएन । उनी पाँचौ सिटमा बसिन् । उनका सिटमा उनैसित आएकी अपरिचित बहिनी पनि थिइन् । बस गुड्यो । हामी चढेको बस दुङ्दुङ्ती धूलो उडाउँदै चुच्चेपाठीतर्फ बढ्यो । अव्यवस्थित शहरीकरण र अनियन्त्रित जनसंख्याका कारण प्रदूषित र कुरुप बनाइएको शहर अवलोकन गर्दै ठीक एघार बजे हामी बसपार्क पुग्यौं ।
हाम्रा गोडा राष्ट्रिय सभागृहतर्पm बढे । तीन मिनेटमा सभागृह अगाडि पुग्यौं । हाम्रो भेट प्रसिद्ध साहित्यकार जनकलाल शर्मासँग भयो । हजुरबाले जनकलाल शर्मासँग मलाई चिनाउनु भयो । ‘भूमिकै भूमिका’ पढेर म आजभन्दा आठ वर्ष अगाडि जनकलाल शर्माका खोजीमा थिएँ । उनको स्पष्ट तार्किक र अनौठो भाषिक संरचनाका कारण उनीदेखि म प्रभावित थिएँ । त्यसदिन उनलाई भेट्दा मलाई ढुङ्गो खोज्दा देउता मिले भैंm भयो । हामी कछुवाका गतिमा अगाडि बढ्यौं । हाम्रा आँखा ‘सुनकोशी साहित्य प्रतिष्ठान’ अङ्कित तुलमा परे । हामी बसभित्र पस्यौं । दुगुर्दै साहित्यकार कृष्णप्रसाद पराजुली आए । उनी हतारहतार बसभित्र पसेर आजका दुलहा कता छन् भन्दै पूर्णप्रकाश नेपाललाई शुभकामना टक्रयाउन पुगे । जनकलाल शर्मा र म क्याबिनको पछिल्लो सिटमा बस्यौं । शर्मा असजिलोसँग झ्यालपट्टि बसे । म ढोकापट्टि बसें । मेरा छेउमा साना भाइ थिए तर परिचय भएन ।
बस एघार बजेर पैंतीस मिनेट जाँदा छुट्यो । हामीसँग दुइटा बस र एउटा जिप थिए । हाम्रा बसका अगाडि जिप लाग्यो । हामी क्रमानुसार बीचमा प¥यौं । हामी भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, बिजुलीबजार, नयाँ बानेश्वर, मीनभवन, तीनकुने, कोटेश्वर, कौशलटार, गठ्ठाघर, ठिमी, सल्लाघारी, सूर्यविनायक, साँगा, बनेपाको त्रिभुवन पार्क हुँदै उत्तरतर्फ लाग्यौं । हामी कच्ची सडकैसडक नाला पुग्यौं । नाला चारैतिर हरिया गहुँ साँचेर झुरुम्म घरमा मुस्काएको रहेछ । भर्खरै नगर भएर मुस्काएको रहेछ । स्वच्छ प्रकृति र हरिया लहलह झुलेका गहुँका फाँटले नाला सिँगारिएको रहेछ । हामी बाह्र बजेर एकाउन्न मिनेट जाँदा नालाको माटो कुल्चिन पुग्यौं । काभ्रेलीहरु हाम्रा स्वागतार्थ सडकमा लाम लागेर बसेका रहेछन् । पञ्चकन्याले राता टीका लगाएर, धजाको माला लगाइदिएर अनि लालीगुँरास र सुनाखरीका पूmल हातमा राखिदिएर हार्दिक स्वागत गरे । मुख मिठासका लागि सुन्तलाका दाना दिए । आत्मीयता र सौहार्दका लागि अमृतमय निश्छल वाणी थिए । सहजता, सरलता काभे्रलीमा अचम्मको पाइयो ।
हामी पंक्तिबद्ध भएर अगाडि बढ्यौं । हाम्रो ताँतीलाई काभ्रेलीहरुले माथिबाट एकतमासले हेरिरहेका थिए । मैले अलिमाथि पञ्चैबाजाको आवाज सुने । गोबद्र्धनपूजालाई सोधें, यहाँ त बिहे जस्तो छनि ? मित्रले मलाई पनि त्यस्तै लाग्यो भने । हामी बाजागाजासहितका टोलीका पछि लाग्यौं । त्यस टोलीले हामीलाई पूरै नाला घुमायो । नालाका परिक्रमाका क्रममा अन्वेषक पूर्णप्रकाश नेपाल यात्रीका मुखारविन्दबाट लिच्छविहरु पनौतिबाट नाला आई राज्य गरेको र भक्तपुर आएको ऐतिहासिक रहस्य खुल्यो । ठाउँठाउँमा मठमन्दिर रहेछन् । एक दुइटा मन्दिरमा आधुनिक मार्बल टाँसिएको भेटियो । संरक्षणताका नाउँमा हाम्रा सांस्कृतिक सम्पदा र पुरातात्विक महत्ता आधुनिकतामा छोपिएको महसुस भयो । आधुनिकताका नाउँमा प्राचीनता र आदिमताको उपहास गरेजस्तो लाग्यो । जे होस्, प्राचीनतामा बाँचेको, आधुनिकतामा हाँसेको र लिच्छिविका बुद्धिले साँचेको नाला म जस्ता मानिसका लागि बढ्न बाँकी महाभारत नै रहेछ ।
हाम्रो साहित्यिक जुलुस नाला नगर परिक्रमा सकेर चण्डेश्वरी माध्यमिक विद्यालयको द्वारमा पुग्यो । द्वार सानो । अँध्यारो अँध्यारो । बिस्तारै बिस्तारै हामी विद्यालयका प्राङ्गणमा पुग्यौं । वसन्त काव्यगोष्ठी तथा स्रष्टा सम्मान समारोहको आयोजना त्यही प्राङ्गणमा रहेछ । प्राङ्गणभन्दा मञ्च लगभग तीन फिट अग्लो । मञ्च भावनात्मक सम्पन्नताले सिँगारिएको । साहित्यिक जागरणले रौसिएको । प्राङ्गणमा पचासदेखि सयसम्म प्लाष्टिकका कुर्सीहरु राखिएका । काठमाडौंबाट गएजति प्रायः कुर्सीमा बसेका । प्राङ्गणमा खचाखच श्रोता र दर्शकहरु । प्राङ्गणमा बस्ने भन्दा उभिने ज्यादा । प्राङ्गणमा नअटाएर मानिसहर विद्यालयका झ्याल र छानाबाट हेर्नेहरुको संख्याको लेखा लगाउन हम्मे थियो । साहित्यिक कार्यक्रममा यसप्रकारको तन्मयता मनोमयता । सबै प्रफुल्ल थिए ।
कार्यक्रम एक बजेर तीस मिनेट जाँदा सुरु भयो । उद्घोषक सुनकोशी साहित्यिक प्रतिष्ठानका कोषाध्यक्ष कृष्ण सुवेदी छानिए । तीखो स्वरमा मीठो शुभकामना बाँडे कृष्ण सुवेदीले । मञ्च स्तव्ध थियो । उद्घोषकले निख्खरो नेपाली जीवनको सुरिलो स्वरमा केशव बडाललाई मञ्चमा निम्त्याए । कमल दीक्षित, जनकलाल शर्मा र धुँस्वा सायमी विशिष्ट अतिथि भए । सम्मानका सूचीमा रहेका पूर्णप्रकाश नेपाल, ठाकुरप्रसाद मैलानी र लीलासिंह कर्मामध्ये साहित्यकार कर्मा मञ्चमा देखिएनन् । प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पराजुल सभापति भए । मञ्चमा राजेन्द्र सुवेदी, घटराज भट्टराई, गोपीकृष्ण शर्मा, विष्णु प्रभात प्रभृत्ति समालोक देखिन्थे । कविहरुको प्रतिनिधित्व भरतराज पन्त र रमेश खकुरेलले गरेका थिए । कार्यक्रमको शुरुवात नेपाली शैलीमा भयो । केशव बडालले पानसमा बत्ती बालेर कार्यक्रम शुरु गरे र सभापतिले संस्थाको प्रतिवेदन पेश गरे । नाच, गान र चोखो मीठो जनताको लय सापटी मागेर पराजुलीले आगन्तुकहरुलाई स्वागत गरे । वाणी कौशल र सिद्धहस्त जनजागृतिका कलम पराजुलीको मीठो कवितामय संस्थागत प्रतिवेदन हृदयग्राह्य बन्यो ।
कार्यक्रम तीन चरणमा बाँडियो । सुरुमा स्रष्टाहरुको सम्मान थियो । समालोचक घटराज भट्टराईले क्रमशः पूर्णप्रकाश नेपाल, ठाकुरप्रसाद मैनाली र लीलासिंह कर्माको व्यक्तिवृत्तान्त बताए । समालोचक भट्टराईले पूर्णप्रकाश नेपालले सृजनात्मक नेपाली साहित्यमा उल्लेख्य अविस्मरणीय देन पु¥याएकाले उनलाई ‘सृजना’ सम्मानले सम्मानित गर्न आँटिएको विचार व्यक्त गरे । आधुनिक मूर्तिकलाका क्षेत्रमा पु¥याएको योगदान स्मरण गरेर मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई ‘स्रष्टा’ सम्मान दिन लागिएको र लोकसाहित्यका क्षेत्रमा चिरस्मरणीय योगदान पु¥याएवापत साहित्यकार लीलासिंह कर्मालाई ‘साधना’ सम्मानले सम्मानित गर्न आँटिएको विचार समालोचक भट्टराईको थियो । वरिष्ठ साहित्यकार कमल दीक्षितले अन्वेषक पूर्णप्रकाश नेपाललाई, उपन्यासकार एवं प्राज्ञ धुँस्वा सायमीले आधुनिक मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई र प्रसिद्ध साहित्यकार जनकलाल शर्माले लीलासिंह कर्माका प्रतिनिधिलाई दोसल्ला ओढाएर अनि हातमा उपहारस्वरुप दोसल्ला चढाएर भव्य समारोहबीच राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गरे । उद्योग तथा वाणिज्य मन्त्री केशव बडालले सम्मानित प्रतिभाहरुलाई साधना अनुरुप मूर्ति उपहार र अभिनन्दन–पत्र दिए । कार्यक्रम भवनात्मक रुपमा उच्च थियो । प्रशंसनीय थियो । गराइको शैली अनुकरणीय थियो । वास्तवमा यस्तो गरिमामय काम गरेवापत सुनकोशी साहित्यिक प्रतिष्ठानलाई, त्यस प्रतिष्ठानमा रहेका पदाधिकारीहरुलाई अनि राम्रो रचना र मीठो नेपालीका सर्जक कृष्णप्रसाद पराजुलीलाई धन्यवाद नदिईरहन सकिदैंन । हामीसंग अरु के छ र ? वश, धन्यवादको रुखो शब्द । नेपालीको सजिलो प्रशंसा ।
दोस्रो चरणमा ‘गगन विरही’ को ‘हिउँदको पूmल’ घुम्तीखोली गरी विमोचित । कार्यक्रमकै ढङ्गमा पूर्णतः नयाँ परिपाटी । आधुनिक शब्दमा भन्दा पूर्णतः प्रगतिशील थियो । रिवन काटेर उद्घाटन गर्ने सामन्ती संस्कारको अनुकरण त्यहाँ थिएन । पाँचतारे होटलमा ह्विस्की र ब्रान्डीका सिसी फोर्दै चिल्लन थालीमा रेसमी कागजले ‘हिउँदको पूmल’ कैद बनाइएको थिएन । नेपाली आमाहरु, दिदीहरु र नेपाली बहिनीहरुको हातको गहना नाङलो थियो त्यहाँ । रातो साधारण कपडामा बेरिएको थियो पुस्तक । विमोचनको नयाँ नमूना थियो त्यो । समालोचक गोपीकृष्ण शर्माले ‘हिउँदको पूmल’ बारे बोले । तेस्रो चरणमा वसन्त काव्यगोष्ठी सुरु भयो । अर्जुन पराजुलीले मीठो कविता वाचन मात्र गरेनन्, सामाजिक राजनैतिक विसङ्गतिमाथि औंला ठड्याए । कृष्ण सुवेदी हतारिए । नहतारिउन पनि किन ? दुई बस मान्छेलाई काठमाडौं ल्याई पु¥याउनु पर्ने । रामप्रसाद ज्ञवालीलाई माइक सुम्पेर कृष्ण सुवेदी स्रोता बन्न पुगे । कवितात्मक आलाप झर्कोलाग्दो नहास् भन्नका खातिर बीचबीचमा लोकनृत्य समाविष्ट थिए । लोकनृत्यले कार्यक्रममा रोचकता थपेको थियो । मन्त्रीको भाषणले साहित्यकारहरुमा जोस थपेको थियो । कविहरुले जनताको बोलीमा जनताको जीवन लेख्नुपर्ने राय मन्त्री बडालको थियो । वास्तवमा कवि–कलम भनेको परिवर्तनको द्योतक हो । सात साल ल्याउनमा देवकोटा र रिमालको कलम सशक्त बन्यो । २०४६ सालको जन क्रान्तिकारी कार्यक्रम सफल बनाउन कवि–लेखकहरु हात बाँधेर बसेनन् । उनीहरुकै सक्रियता स्वरुप देशले बहुदल पायो । जनताले अधिकार पाए । स्वतन्त्रता पाए । गगन विरही ओलाङचुङ्गोला पुगे । धुँस्वा सायमी, नम्रता गुरागाईले मीठो कविता सुनाए । नवराज कार्की, सृजना दुवाल, श्याम खनाल कविता सुनाउन पछि परेनन् । अच्युतरमण अधिकारी, भरतराज पन्त, शीला पन्त, नरेन्द्र परासर, गोविन्दबहादुर थापा गद्यपद्यका कवि कोकिल बनेर प्रकट थिए । भरतराजले त तीन तीनवटा कविता कण्ठै सुनाए । कति आएको ? मुहानबाट पानी छुटे झैं भरतराजका मुखबाट कविता छुटेका । विचित्रका प्रतिभा रहेछन् कवि भरतराज पन्त त ।
लेखनाथसँग दाँज्दै रामप्रसादले पूर्णप्रकाशलाई बोलाए । उनले मञ्चमा आएर पाँच मिनेट बोले । नालाबारे बोले । ऐतिहासिक तथ्य बोले । नालाको गौरव बोले । नालावासीहरुलाई इतिहास दिएर भक्तपुरे भन्दा जेठा बनाए पूर्णप्रकाशले । उनी बोलेर, लेखेर थाक्ने प्रतिभा थिएनन् । उनले नालाप्रति कविता सुनाए र मञ्चमा थचक्क बसे । विष्णु प्रभात मीठो जनताको बोली लिएर आए । उनको कवितात्मक आलापले सबैलाई द्रवीभूत पारेको हुनुपर्छ । भगवती अर्याल, त्रिलोचन आचार्य, गौरी रिजाल, धरणीधर अधिकारी, शिव प्रणव, ओमवीरसिंहले पनि कविता सुनाए । अन्तिम कविका रुपमा रमेश खकुरेल आए । तपाईलाई अवश्य अवगत हुनुपर्छ आधुनिक आशुकवि रमेश खकुरेल । उनी नेपाली साहित्यका बहुमखी प्रतिभा हुन् । उनको विशेष लगाव कविता र गीतमा देखिन्छ । उनले कविता भनेनन् । उनले खैजडी बजाएर व्यङ्ग्यात्मक विद्रोहात्मक सुधारात्मक अभिव्यक्ति मिसिएको गीत गाए । उनका गीतमा सबै मग्न भए । नम्रता गुरागाईले कवितावाचन कार्यक्रम सकिएको जानकारी गराइन् । सुनकोशी साहित्य प्रतिष्ठानका अध्यक्ष एवं वसन्त काव्यगोष्ठी तथा स्रष्टा सम्मान समारोहका सभापति तथा नेपाली मुटुका लेखक कृष्णप्रसाद पराजुलीले सभा विसर्जन गरे । अच्चम्म, के भयो भने कोषराज न्यौपाने, प्रह्लाद पोखरेल, हरि मञ्जुश्री, बमबहादुर जिताली जस्ता थुप्रै कविहरुले कविता सुनाउन पाएनन् । यसको दोष कार्यक्रम आयोजकलाई दिन मिल्दैन । सञ्चालिकालाई त झन दिनै मिल्दैन । तपाईहरु रिसाउनु हुन्न भने म यसको दोषी भन्न सक्तछु । सुन्नुहोस् ल म भन्छु, यसको दोषी समय हो । समयमाथि कारवाही हुनुपर्छ । तर कसले गर्ने ? कुन निकायले गर्ने ? छोडौं यो गन्थन ।
पख्नुहोस् है म तपाईलाई कार्यक्रमका प्रमुख अतिथिका बारेमा अलिकति भनेर मात्रै विदा दिन्छु । मैले कार्यक्रमका अतिथिका बारेमा अघि नै आँखा झिम्काइसकेको छु । जुँगा चल्यो कुरा बुझ्यो भने झैं तपाईले बुझिसक्नु भयो । कार्यक्रमका प्रमुख अतिथि उद्योग तथा वाणिज्य मन्त्री केशव बडाल । एमालेका नेता । काभ्रेलीका माननीय परन्तु उनी सबैका साझा थिए । प्यारा थिए । उनको मुख नपखालिए बाल–कपोलमा टाँसिन पछि परेको थिएन । उनका हातलाई कुर्सीले अँठ्याएको थिएन । अबेरको सङ्केत पाँचतारे होटलले दिएको थिएन । उनका निधारमा रहेको ठाडो रातो रङ्गले वीरहरु र शहीदहरुको बलिदान स्मरण गराइरहेको थियो । घृणित विभाजित मानसिकतालाई एकतामा बाँध्ने क्रान्तिकारी अभिमानको सन्देश फिँजाइरहेको थियो । सामाजिक र सांस्कृतिक क्रािन्तमा क्रियाशील हुन हौस्याइरहेको थियो । राष्ट्रिय गौरव जातीय स्वाभिमानको प्रतीक उनको निधारको टीको थियो । माझिएको मीठो नेपाली भाषा उनका मुखमा थियो । मुटुमा थियो साहित्यकार जनताका साथी भएकोले जनताका गीत, कथा, व्यथा, शोषण, उत्पीडन साहित्यकारले कलमको साथी बनाउनु पर्ने राय उनको थियो । यो कुनै भावुक आदर्शवादी लहर होइन । यो त प्रगतिवादी साहित्यको मूल प्राण हो । सामन्ती संस्कारमा हुर्किएको साहित्यिक परिपाटीका विरुद्धमा आएको वुलन्द आवाज हो । बडालले साँचो साहित्यका विकासमा कवि–लेखकको कलम दरिनुपर्ने आशय व्यक्त गरेर हामीलाई दिनुसम्म हौसला दिए । साहित्यकारहरुलाई उत्साह र उमङ्गले भरिदिए उनले । साहित्य लेख्नु पनि केही रहेछ जस्तो लाग्यो उनको भाषण सुनेर ।
हामी ६ बजेर तीस मिनेटका समयमा नालालाई विदा गरेर काठमाडौं हानियौं । हामी चढेका बसमा रसिक साहित्यकारहरुको भीड भएकाले मञ्च नपाएका कविहरुले अजस्र कविताधारा बगाए । भरतराज पन्त र रमेश खकुरेलमा अद्भुत काव्यकारिता रहेछ । कोषराज पनि कम रहेनछन् । कविताको जवाफ कविता मै दिन्थे कोषराजले त्यहाँ । कमलमणिले उनलाई आशुकवि नै भने । वास्तवमा बसभित्रको साहित्यिक वातावरणलाई चाहिँ कोषराज–यात्रा भने केही फरक पर्दैनथ्यो । कृष्ण सुवेदी पनि उद्घोषण गरेर अघाएका थिएनन् । प्रह्लाद पोखरेल नपत्याउँदोसँग उत्कृष्ट कविता भन्न पनि पछि परेनन् । बसको वातावरण कवितामय भएको थियो । बस नै कवि बन्ला जस्तो । यही रमाइलै रमाइलामा बैशाख १ बित्यो । नयाँ वर्षमा सबैलाई यस्तै साहित्यिक उत्साह, उमङ्ग र केही गरौं भन्ने प्रतिवद्धता मिलोस् भन्ने शुभकामना त्यस दिनको शुभकामना थियो । नयाँ वर्षमा गरिएको प्रण थियो । म पनि यही प्रण गर्दै नालालाई विदा गर्न पुगें ।
(साभारः “साथी” मासिक, वर्ष १३, अंक २, जेष्ठ २०५४, लेखकः दुर्गाप्रसाद नेपाल)
सिद्धार्थ गौतम बुद्ध ४ महिना नालामा ध्यानमा बसेका थिए
नेपालमण्डल अर्थात काठमाडौं उपत्यकामा अवस्थित स्वयम्भू महाचैत्यको दर्शनार्थ नेपाल आएका सात प्राचीन बुद्ध विपश्वी बुद्ध, शिखी बुद्ध, विश्वम्भू बुद्ध, क्रकुच्छन्द बुद्ध, कङ्कमुनि बुद्ध, कनकमुनि बुद्ध र शाक्यमुनि बुद्ध हुन् । शाक्यमुनि बुद्ध आफ्नो पूर्वावतारको दर्शन गर्न काभ्रेको दाप्चास्थित नमोबुद्ध पुग्नुहुँदा बाटोमा पर्ने नाला देशको करुणामय लोकेश्वर विहारमा चार महिना ध्यान बस्नु भएको जनश्रुति छ ।
अर्को जनश्रुति अनुसार पनौति देशका राजकुमार महासत्वले अशक्त डमरु जन्माएकी बघिनीलाई आफ्नो शरीरको मासु आफैले काटी खुवाएपछि महापरिनिर्वाण प्राप्त गर्नु भएको थियो । यही पूर्वजन्मको स्मरण ध्यानमार्फत ज्ञात गर्न भगवान गौतम बुद्धले नालामा चार महिना ध्यान बस्नुपरेको थियो भने आफ्नै पूर्वजन्मको महान् त्यागको कदर गर्दै गौतम बुद्धले समेत राजकुमार महासत्वलाई नमोबुद्ध भनी नाला देशबाटै वन्दना गर्नु भएको थियो । यही कारण आज पर्यन्त काभ्रेको दाप्चाको राजकुमार महासत्व चैत्यलाई नमोबुद्ध भनिन्छ।
अर्को प्रख्यात लोकोक्तिनुसार नालंगा ग्राम पछाडिको खुला डाँडा किराँतकालमा पिचाश आत्माले खेल्ने ठाउँ थियो । पिचाश आत्माको बसोबासस्थल भनी थाहा नपाई बनेपाका राजा दीर्घरथले आफ्नो अष्टमी व्रत सोही नाला डाँडामा बस्न पुगेछन् तर उनको ब्रतमा पिचाश आत्माले अनेक तरहबाट भांजो हाल्न थालेपछि ब्रत रक्षार्थ राजा दीर्घरथले करुणामय लोकेश्वर र देवी भगवतीलाई एकसाथ आह्वान गरेछन् ।
करुणामयको आज्ञानुसार देवी सुधर्म भगवतीले पिचाश आत्मालाई दमन गरी राजा दीर्घरथको अष्टमी व्रतलाई निरन्तरता दिनुकासाथै नालावासीको समेत रक्षा गरिदिएछन् । त्यसैले नालादेशमा अहिले पनि करुणामय र भगवतीको महिमा एकसाथ गाइन्छ भने दुबै देवस्थलमा एकसाथ जात्रा गर्ने पूजा गर्न जाने परम्परा छ पाइन्छ ।
(साभार ः नेपाल मण्डल सम्पदा, लेखक पदम श्रेष्ठ)
नाला र बनेपा जोड्ने बाटोमा लघु औद्योगिक क्षेत्र स्थापना गर्नु जरुरी
नाला र बनेपा जोड्ने बाटो करीब ३ कि.मी. छ । यस ३ कि.मी दूरी भित्र आजभोलि विभिन्न उद्योगहरु स्थापना हुने क्रम जारी छ । यस क्षेत्रमा लघु औद्योगिक क्षेत्र बनाउन यस क्षेत्रका उद्योगहरुले पहल गर्नु पर्ने देखिन्छ । यहाँ उद्योगहरु स्थापना गर्ने क्रम बढ्नुको कारण बाटोको सुविधा, काठमाडौं सम्म आफ्नो उत्पादन पु¥याउन सजिलो भएकोले, टेलिफोन, बिद्युत, कामदारको उपलव्धता तथा सुरक्षा आदि कारणले गर्दा दिनानुदिन उद्योगहरु स्थापना हुने क्रम जारी छ ।
हालसम्म यस क्षेत्रमा ग्यास उद्योगहरु, चप्पल उद्योग, प्लाष्टिक उद्योग, बिस्कुट उद्योग, फर्निचर उद्योग, बेकरी उद्योग र पशुपंक्षीको औषधी उद्योगहरु स्थापना भईसकेका छन् । यसले देशको अर्थतन्त्रमा पनि सकारात्मक भूमिका निर्वाह गरेको छ । यस क्षेत्रहरुको उद्योगमा करीब १० अर्ब भन्दा बढी लगानी भईसकेको छ । ती उद्योगहरुबाट करीब ८०० जनालाई रोजगारी र अप्रत्यक्षरुपमा अन्य ३००० जनालाई अप्रत्यक्ष रोजगारी दिईरहेको देखिन्छ ।
यस क्षेत्रमा औद्योगिक वातावरण निर्माण गर्न, भविष्यको लागि औद्योगिक संरचना तयार गर्न, आउँदा दिनहरुमा हुने कमीकमजोरीहरु हटाउन, औद्योगिक सुरक्षा निर्माण गर्न, स्वस्थ प्रतिस्पर्धा निर्माण गर्न, यस क्षेत्रको केही मात्रामा भएपनि बेरोजगारी हटाउन, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो उत्पादन पु¥याउन, औद्योगिक नीति निर्माण गर्न, यस क्षेत्रको हकहित र व्यवस्थापन सहल र सुलभ गर्न, राष्ट्रिय अर्थतन्त्रमा टेवा दिन यस भेगका उद्योगहरुको एउटा कमिटी निर्माण गरी “काभ्रे बनेपा नाला लघु औद्योगिक क्षेत्र” स्थापना गर्नु पर्ने जरुरी देखिन्छ । यसको लागि यस भेगका उद्योगहरु र काभ्रे उद्योग वाणिज्य संघ मिलेर गृहकार्य अगाडि बढाउनु पर्ने आवश्यक छ ।
Saturday, February 4, 2012
आन्तरिक तथा बाह्य पर्यटक आकर्षणको सम्भावना बोकेको गाउँ उग्रचण्डी नाला गाविस
नाला गाविस धार्मिक पर्यटक तथा कृषि पर्यटकको लागि पनि प्रचुर सम्भावना बोकेको छ । नेपालका प्रसिद्ध चार भगवतीहरुमध्ये एक उग्रचण्डी भगवती रहनु र नेपालको चार प्रसिद्ध करुणामयहरुमध्ये एक श्रृष्टिकान्त लोकेश्वर रहनुले पनि धार्मिक पर्यटनको सम्भावना बोकेको देखिन्छ । कृषि क्षेत्रमा पनि काभ्रेका अन्य गाविसभन्दा भिन्न कृषि प्रणाली तथा मेहनती भएको पाइन्छ । नेपालको पहिलो दुध चिस्याउने केन्द्र पनि यस क्षेत्रमा रहेको छ । हाल यसलाई पुनः सञ्चालन गर्नु पर्ने देखिन्छ । च्यवान ऋषिले तपस्या गरेको ठाउँ, पाँच पाण्डवहरुको गुप्तवास बसेको ठाउँ आदि विभिन्न कारणहरुले यस क्षेत्रलाई धार्मिक पर्यटनको लागि विकास गर्नुपर्ने देखिन्छ । यसको लागि स्थानीयवासीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने दखिन्छ । गाउँले संस्कृति, स्थानीय रीतिरिवाज रहनसहनदेखि भौगोलिक वातावरण, सामुदायिक जीवनशैली लगायतमा रुचिराख्ने जो कोही पनि एकपटक पुग्न्र पर्ने ठाउँ हो ।
यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि स्थानीय तवरमा होम स्टे खोल्नु पर्ने, यस क्षेत्रमा एउटा समिति बनाई पर्यटकीय गतिविधि बढाउन प्रवद्र्धनात्मक अभियान समेत सञ्चालन गर्नु पर्ने देखिन्छ । यस गाविसको पर्यटकीय तथा धार्मिक गतिविधि बढाउन र प्रवद्र्धन गर्न स्थानीयवासीहरुले नै अभियानको रुपमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिन्छ ।
Wednesday, February 1, 2012
Subscribe to:
Posts (Atom)