चवन्न सालको पहिलो दिन । तदनुसार २०५४ साल वैशाख १ गते आइतबार । सबेरै शुभकामनाका डिङ्गर सम्वृद्धिका कोसेलीहरु मझेरीमा, दलानमा अनि आँगनमा पनि । वसन्तको मध्याह्न्न । सिरिसिरी हावा । नित्य नवीव चिरन्तन आनन्द । उत्साह र उपमङ्गका उल्लासमय लहर । प्रकृति र जीवनबीचको अनुपम सानिध्य । आकाशमा टालाटुली बादल । बाँकी स्वच्छ सफा नील गगन । वरिपरिका बगे.चामा चराहरुका मधुर कूजन । वसन्तको कोकिलको मीठो स्वर । घरिघरि कुक्कु चराको मधुर आवाज । त्रिपन्न सालका अन्तिम दिनमा रिसाइसकेकी प्रकृति हँसिली खुसिली । मुसुक्क मुस्काएकी । थोरै लजाएकी । यही प्रकृतिमय दुनियाँसँगै हजुरबा (पूर्णप्रकाश नेपाल ‘यात्री’) र नाति (दुर्गाप्रसाद नेपाल) नौ बजेर चालीस मिनेटका घडीमा बाहिरियौं । हामीलाई एघार बजे सभागृह पुग्नु थियो । तोकिएको समयमा उपस्थिति हाम्रो अनिवार्य सर्त हो । दश बजे महाङ्काल पुग्यौं । रत्नपार्कका लागि बस लागिरहेको रहेछ । हामी बसमा उक्लिएर देब्रेतिर तेस्रा सिटमा बस्यौं । बसमा घुँइचो थिएन । त्यहाँ सरस्वती पन्तसँग भेट भयो । नयाँ वर्षको पहिलो दिन भएकोले शुभकामना बाँड्न विलम्ब गरिएन । उनी पाँचौ सिटमा बसिन् । उनका सिटमा उनैसित आएकी अपरिचित बहिनी पनि थिइन् । बस गुड्यो । हामी चढेको बस दुङ्दुङ्ती धूलो उडाउँदै चुच्चेपाठीतर्फ बढ्यो । अव्यवस्थित शहरीकरण र अनियन्त्रित जनसंख्याका कारण प्रदूषित र कुरुप बनाइएको शहर अवलोकन गर्दै ठीक एघार बजे हामी बसपार्क पुग्यौं ।
हाम्रा गोडा राष्ट्रिय सभागृहतर्पm बढे । तीन मिनेटमा सभागृह अगाडि पुग्यौं । हाम्रो भेट प्रसिद्ध साहित्यकार जनकलाल शर्मासँग भयो । हजुरबाले जनकलाल शर्मासँग मलाई चिनाउनु भयो । ‘भूमिकै भूमिका’ पढेर म आजभन्दा आठ वर्ष अगाडि जनकलाल शर्माका खोजीमा थिएँ । उनको स्पष्ट तार्किक र अनौठो भाषिक संरचनाका कारण उनीदेखि म प्रभावित थिएँ । त्यसदिन उनलाई भेट्दा मलाई ढुङ्गो खोज्दा देउता मिले भैंm भयो । हामी कछुवाका गतिमा अगाडि बढ्यौं । हाम्रा आँखा ‘सुनकोशी साहित्य प्रतिष्ठान’ अङ्कित तुलमा परे । हामी बसभित्र पस्यौं । दुगुर्दै साहित्यकार कृष्णप्रसाद पराजुली आए । उनी हतारहतार बसभित्र पसेर आजका दुलहा कता छन् भन्दै पूर्णप्रकाश नेपाललाई शुभकामना टक्रयाउन पुगे । जनकलाल शर्मा र म क्याबिनको पछिल्लो सिटमा बस्यौं । शर्मा असजिलोसँग झ्यालपट्टि बसे । म ढोकापट्टि बसें । मेरा छेउमा साना भाइ थिए तर परिचय भएन ।
बस एघार बजेर पैंतीस मिनेट जाँदा छुट्यो । हामीसँग दुइटा बस र एउटा जिप थिए । हाम्रा बसका अगाडि जिप लाग्यो । हामी क्रमानुसार बीचमा प¥यौं । हामी भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, बिजुलीबजार, नयाँ बानेश्वर, मीनभवन, तीनकुने, कोटेश्वर, कौशलटार, गठ्ठाघर, ठिमी, सल्लाघारी, सूर्यविनायक, साँगा, बनेपाको त्रिभुवन पार्क हुँदै उत्तरतर्फ लाग्यौं । हामी कच्ची सडकैसडक नाला पुग्यौं । नाला चारैतिर हरिया गहुँ साँचेर झुरुम्म घरमा मुस्काएको रहेछ । भर्खरै नगर भएर मुस्काएको रहेछ । स्वच्छ प्रकृति र हरिया लहलह झुलेका गहुँका फाँटले नाला सिँगारिएको रहेछ । हामी बाह्र बजेर एकाउन्न मिनेट जाँदा नालाको माटो कुल्चिन पुग्यौं । काभ्रेलीहरु हाम्रा स्वागतार्थ सडकमा लाम लागेर बसेका रहेछन् । पञ्चकन्याले राता टीका लगाएर, धजाको माला लगाइदिएर अनि लालीगुँरास र सुनाखरीका पूmल हातमा राखिदिएर हार्दिक स्वागत गरे । मुख मिठासका लागि सुन्तलाका दाना दिए । आत्मीयता र सौहार्दका लागि अमृतमय निश्छल वाणी थिए । सहजता, सरलता काभे्रलीमा अचम्मको पाइयो ।
हामी पंक्तिबद्ध भएर अगाडि बढ्यौं । हाम्रो ताँतीलाई काभ्रेलीहरुले माथिबाट एकतमासले हेरिरहेका थिए । मैले अलिमाथि पञ्चैबाजाको आवाज सुने । गोबद्र्धनपूजालाई सोधें, यहाँ त बिहे जस्तो छनि ? मित्रले मलाई पनि त्यस्तै लाग्यो भने । हामी बाजागाजासहितका टोलीका पछि लाग्यौं । त्यस टोलीले हामीलाई पूरै नाला घुमायो । नालाका परिक्रमाका क्रममा अन्वेषक पूर्णप्रकाश नेपाल यात्रीका मुखारविन्दबाट लिच्छविहरु पनौतिबाट नाला आई राज्य गरेको र भक्तपुर आएको ऐतिहासिक रहस्य खुल्यो । ठाउँठाउँमा मठमन्दिर रहेछन् । एक दुइटा मन्दिरमा आधुनिक मार्बल टाँसिएको भेटियो । संरक्षणताका नाउँमा हाम्रा सांस्कृतिक सम्पदा र पुरातात्विक महत्ता आधुनिकतामा छोपिएको महसुस भयो । आधुनिकताका नाउँमा प्राचीनता र आदिमताको उपहास गरेजस्तो लाग्यो । जे होस्, प्राचीनतामा बाँचेको, आधुनिकतामा हाँसेको र लिच्छिविका बुद्धिले साँचेको नाला म जस्ता मानिसका लागि बढ्न बाँकी महाभारत नै रहेछ ।
हाम्रो साहित्यिक जुलुस नाला नगर परिक्रमा सकेर चण्डेश्वरी माध्यमिक विद्यालयको द्वारमा पुग्यो । द्वार सानो । अँध्यारो अँध्यारो । बिस्तारै बिस्तारै हामी विद्यालयका प्राङ्गणमा पुग्यौं । वसन्त काव्यगोष्ठी तथा स्रष्टा सम्मान समारोहको आयोजना त्यही प्राङ्गणमा रहेछ । प्राङ्गणभन्दा मञ्च लगभग तीन फिट अग्लो । मञ्च भावनात्मक सम्पन्नताले सिँगारिएको । साहित्यिक जागरणले रौसिएको । प्राङ्गणमा पचासदेखि सयसम्म प्लाष्टिकका कुर्सीहरु राखिएका । काठमाडौंबाट गएजति प्रायः कुर्सीमा बसेका । प्राङ्गणमा खचाखच श्रोता र दर्शकहरु । प्राङ्गणमा बस्ने भन्दा उभिने ज्यादा । प्राङ्गणमा नअटाएर मानिसहर विद्यालयका झ्याल र छानाबाट हेर्नेहरुको संख्याको लेखा लगाउन हम्मे थियो । साहित्यिक कार्यक्रममा यसप्रकारको तन्मयता मनोमयता । सबै प्रफुल्ल थिए ।
कार्यक्रम एक बजेर तीस मिनेट जाँदा सुरु भयो । उद्घोषक सुनकोशी साहित्यिक प्रतिष्ठानका कोषाध्यक्ष कृष्ण सुवेदी छानिए । तीखो स्वरमा मीठो शुभकामना बाँडे कृष्ण सुवेदीले । मञ्च स्तव्ध थियो । उद्घोषकले निख्खरो नेपाली जीवनको सुरिलो स्वरमा केशव बडाललाई मञ्चमा निम्त्याए । कमल दीक्षित, जनकलाल शर्मा र धुँस्वा सायमी विशिष्ट अतिथि भए । सम्मानका सूचीमा रहेका पूर्णप्रकाश नेपाल, ठाकुरप्रसाद मैलानी र लीलासिंह कर्मामध्ये साहित्यकार कर्मा मञ्चमा देखिएनन् । प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पराजुल सभापति भए । मञ्चमा राजेन्द्र सुवेदी, घटराज भट्टराई, गोपीकृष्ण शर्मा, विष्णु प्रभात प्रभृत्ति समालोक देखिन्थे । कविहरुको प्रतिनिधित्व भरतराज पन्त र रमेश खकुरेलले गरेका थिए । कार्यक्रमको शुरुवात नेपाली शैलीमा भयो । केशव बडालले पानसमा बत्ती बालेर कार्यक्रम शुरु गरे र सभापतिले संस्थाको प्रतिवेदन पेश गरे । नाच, गान र चोखो मीठो जनताको लय सापटी मागेर पराजुलीले आगन्तुकहरुलाई स्वागत गरे । वाणी कौशल र सिद्धहस्त जनजागृतिका कलम पराजुलीको मीठो कवितामय संस्थागत प्रतिवेदन हृदयग्राह्य बन्यो ।
कार्यक्रम तीन चरणमा बाँडियो । सुरुमा स्रष्टाहरुको सम्मान थियो । समालोचक घटराज भट्टराईले क्रमशः पूर्णप्रकाश नेपाल, ठाकुरप्रसाद मैनाली र लीलासिंह कर्माको व्यक्तिवृत्तान्त बताए । समालोचक भट्टराईले पूर्णप्रकाश नेपालले सृजनात्मक नेपाली साहित्यमा उल्लेख्य अविस्मरणीय देन पु¥याएकाले उनलाई ‘सृजना’ सम्मानले सम्मानित गर्न आँटिएको विचार व्यक्त गरे । आधुनिक मूर्तिकलाका क्षेत्रमा पु¥याएको योगदान स्मरण गरेर मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई ‘स्रष्टा’ सम्मान दिन लागिएको र लोकसाहित्यका क्षेत्रमा चिरस्मरणीय योगदान पु¥याएवापत साहित्यकार लीलासिंह कर्मालाई ‘साधना’ सम्मानले सम्मानित गर्न आँटिएको विचार समालोचक भट्टराईको थियो । वरिष्ठ साहित्यकार कमल दीक्षितले अन्वेषक पूर्णप्रकाश नेपाललाई, उपन्यासकार एवं प्राज्ञ धुँस्वा सायमीले आधुनिक मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई र प्रसिद्ध साहित्यकार जनकलाल शर्माले लीलासिंह कर्माका प्रतिनिधिलाई दोसल्ला ओढाएर अनि हातमा उपहारस्वरुप दोसल्ला चढाएर भव्य समारोहबीच राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गरे । उद्योग तथा वाणिज्य मन्त्री केशव बडालले सम्मानित प्रतिभाहरुलाई साधना अनुरुप मूर्ति उपहार र अभिनन्दन–पत्र दिए । कार्यक्रम भवनात्मक रुपमा उच्च थियो । प्रशंसनीय थियो । गराइको शैली अनुकरणीय थियो । वास्तवमा यस्तो गरिमामय काम गरेवापत सुनकोशी साहित्यिक प्रतिष्ठानलाई, त्यस प्रतिष्ठानमा रहेका पदाधिकारीहरुलाई अनि राम्रो रचना र मीठो नेपालीका सर्जक कृष्णप्रसाद पराजुलीलाई धन्यवाद नदिईरहन सकिदैंन । हामीसंग अरु के छ र ? वश, धन्यवादको रुखो शब्द । नेपालीको सजिलो प्रशंसा ।
दोस्रो चरणमा ‘गगन विरही’ को ‘हिउँदको पूmल’ घुम्तीखोली गरी विमोचित । कार्यक्रमकै ढङ्गमा पूर्णतः नयाँ परिपाटी । आधुनिक शब्दमा भन्दा पूर्णतः प्रगतिशील थियो । रिवन काटेर उद्घाटन गर्ने सामन्ती संस्कारको अनुकरण त्यहाँ थिएन । पाँचतारे होटलमा ह्विस्की र ब्रान्डीका सिसी फोर्दै चिल्लन थालीमा रेसमी कागजले ‘हिउँदको पूmल’ कैद बनाइएको थिएन । नेपाली आमाहरु, दिदीहरु र नेपाली बहिनीहरुको हातको गहना नाङलो थियो त्यहाँ । रातो साधारण कपडामा बेरिएको थियो पुस्तक । विमोचनको नयाँ नमूना थियो त्यो । समालोचक गोपीकृष्ण शर्माले ‘हिउँदको पूmल’ बारे बोले । तेस्रो चरणमा वसन्त काव्यगोष्ठी सुरु भयो । अर्जुन पराजुलीले मीठो कविता वाचन मात्र गरेनन्, सामाजिक राजनैतिक विसङ्गतिमाथि औंला ठड्याए । कृष्ण सुवेदी हतारिए । नहतारिउन पनि किन ? दुई बस मान्छेलाई काठमाडौं ल्याई पु¥याउनु पर्ने । रामप्रसाद ज्ञवालीलाई माइक सुम्पेर कृष्ण सुवेदी स्रोता बन्न पुगे । कवितात्मक आलाप झर्कोलाग्दो नहास् भन्नका खातिर बीचबीचमा लोकनृत्य समाविष्ट थिए । लोकनृत्यले कार्यक्रममा रोचकता थपेको थियो । मन्त्रीको भाषणले साहित्यकारहरुमा जोस थपेको थियो । कविहरुले जनताको बोलीमा जनताको जीवन लेख्नुपर्ने राय मन्त्री बडालको थियो । वास्तवमा कवि–कलम भनेको परिवर्तनको द्योतक हो । सात साल ल्याउनमा देवकोटा र रिमालको कलम सशक्त बन्यो । २०४६ सालको जन क्रान्तिकारी कार्यक्रम सफल बनाउन कवि–लेखकहरु हात बाँधेर बसेनन् । उनीहरुकै सक्रियता स्वरुप देशले बहुदल पायो । जनताले अधिकार पाए । स्वतन्त्रता पाए । गगन विरही ओलाङचुङ्गोला पुगे । धुँस्वा सायमी, नम्रता गुरागाईले मीठो कविता सुनाए । नवराज कार्की, सृजना दुवाल, श्याम खनाल कविता सुनाउन पछि परेनन् । अच्युतरमण अधिकारी, भरतराज पन्त, शीला पन्त, नरेन्द्र परासर, गोविन्दबहादुर थापा गद्यपद्यका कवि कोकिल बनेर प्रकट थिए । भरतराजले त तीन तीनवटा कविता कण्ठै सुनाए । कति आएको ? मुहानबाट पानी छुटे झैं भरतराजका मुखबाट कविता छुटेका । विचित्रका प्रतिभा रहेछन् कवि भरतराज पन्त त ।
लेखनाथसँग दाँज्दै रामप्रसादले पूर्णप्रकाशलाई बोलाए । उनले मञ्चमा आएर पाँच मिनेट बोले । नालाबारे बोले । ऐतिहासिक तथ्य बोले । नालाको गौरव बोले । नालावासीहरुलाई इतिहास दिएर भक्तपुरे भन्दा जेठा बनाए पूर्णप्रकाशले । उनी बोलेर, लेखेर थाक्ने प्रतिभा थिएनन् । उनले नालाप्रति कविता सुनाए र मञ्चमा थचक्क बसे । विष्णु प्रभात मीठो जनताको बोली लिएर आए । उनको कवितात्मक आलापले सबैलाई द्रवीभूत पारेको हुनुपर्छ । भगवती अर्याल, त्रिलोचन आचार्य, गौरी रिजाल, धरणीधर अधिकारी, शिव प्रणव, ओमवीरसिंहले पनि कविता सुनाए । अन्तिम कविका रुपमा रमेश खकुरेल आए । तपाईलाई अवश्य अवगत हुनुपर्छ आधुनिक आशुकवि रमेश खकुरेल । उनी नेपाली साहित्यका बहुमखी प्रतिभा हुन् । उनको विशेष लगाव कविता र गीतमा देखिन्छ । उनले कविता भनेनन् । उनले खैजडी बजाएर व्यङ्ग्यात्मक विद्रोहात्मक सुधारात्मक अभिव्यक्ति मिसिएको गीत गाए । उनका गीतमा सबै मग्न भए । नम्रता गुरागाईले कवितावाचन कार्यक्रम सकिएको जानकारी गराइन् । सुनकोशी साहित्य प्रतिष्ठानका अध्यक्ष एवं वसन्त काव्यगोष्ठी तथा स्रष्टा सम्मान समारोहका सभापति तथा नेपाली मुटुका लेखक कृष्णप्रसाद पराजुलीले सभा विसर्जन गरे । अच्चम्म, के भयो भने कोषराज न्यौपाने, प्रह्लाद पोखरेल, हरि मञ्जुश्री, बमबहादुर जिताली जस्ता थुप्रै कविहरुले कविता सुनाउन पाएनन् । यसको दोष कार्यक्रम आयोजकलाई दिन मिल्दैन । सञ्चालिकालाई त झन दिनै मिल्दैन । तपाईहरु रिसाउनु हुन्न भने म यसको दोषी भन्न सक्तछु । सुन्नुहोस् ल म भन्छु, यसको दोषी समय हो । समयमाथि कारवाही हुनुपर्छ । तर कसले गर्ने ? कुन निकायले गर्ने ? छोडौं यो गन्थन ।
पख्नुहोस् है म तपाईलाई कार्यक्रमका प्रमुख अतिथिका बारेमा अलिकति भनेर मात्रै विदा दिन्छु । मैले कार्यक्रमका अतिथिका बारेमा अघि नै आँखा झिम्काइसकेको छु । जुँगा चल्यो कुरा बुझ्यो भने झैं तपाईले बुझिसक्नु भयो । कार्यक्रमका प्रमुख अतिथि उद्योग तथा वाणिज्य मन्त्री केशव बडाल । एमालेका नेता । काभ्रेलीका माननीय परन्तु उनी सबैका साझा थिए । प्यारा थिए । उनको मुख नपखालिए बाल–कपोलमा टाँसिन पछि परेको थिएन । उनका हातलाई कुर्सीले अँठ्याएको थिएन । अबेरको सङ्केत पाँचतारे होटलले दिएको थिएन । उनका निधारमा रहेको ठाडो रातो रङ्गले वीरहरु र शहीदहरुको बलिदान स्मरण गराइरहेको थियो । घृणित विभाजित मानसिकतालाई एकतामा बाँध्ने क्रान्तिकारी अभिमानको सन्देश फिँजाइरहेको थियो । सामाजिक र सांस्कृतिक क्रािन्तमा क्रियाशील हुन हौस्याइरहेको थियो । राष्ट्रिय गौरव जातीय स्वाभिमानको प्रतीक उनको निधारको टीको थियो । माझिएको मीठो नेपाली भाषा उनका मुखमा थियो । मुटुमा थियो साहित्यकार जनताका साथी भएकोले जनताका गीत, कथा, व्यथा, शोषण, उत्पीडन साहित्यकारले कलमको साथी बनाउनु पर्ने राय उनको थियो । यो कुनै भावुक आदर्शवादी लहर होइन । यो त प्रगतिवादी साहित्यको मूल प्राण हो । सामन्ती संस्कारमा हुर्किएको साहित्यिक परिपाटीका विरुद्धमा आएको वुलन्द आवाज हो । बडालले साँचो साहित्यका विकासमा कवि–लेखकको कलम दरिनुपर्ने आशय व्यक्त गरेर हामीलाई दिनुसम्म हौसला दिए । साहित्यकारहरुलाई उत्साह र उमङ्गले भरिदिए उनले । साहित्य लेख्नु पनि केही रहेछ जस्तो लाग्यो उनको भाषण सुनेर ।
हामी ६ बजेर तीस मिनेटका समयमा नालालाई विदा गरेर काठमाडौं हानियौं । हामी चढेका बसमा रसिक साहित्यकारहरुको भीड भएकाले मञ्च नपाएका कविहरुले अजस्र कविताधारा बगाए । भरतराज पन्त र रमेश खकुरेलमा अद्भुत काव्यकारिता रहेछ । कोषराज पनि कम रहेनछन् । कविताको जवाफ कविता मै दिन्थे कोषराजले त्यहाँ । कमलमणिले उनलाई आशुकवि नै भने । वास्तवमा बसभित्रको साहित्यिक वातावरणलाई चाहिँ कोषराज–यात्रा भने केही फरक पर्दैनथ्यो । कृष्ण सुवेदी पनि उद्घोषण गरेर अघाएका थिएनन् । प्रह्लाद पोखरेल नपत्याउँदोसँग उत्कृष्ट कविता भन्न पनि पछि परेनन् । बसको वातावरण कवितामय भएको थियो । बस नै कवि बन्ला जस्तो । यही रमाइलै रमाइलामा बैशाख १ बित्यो । नयाँ वर्षमा सबैलाई यस्तै साहित्यिक उत्साह, उमङ्ग र केही गरौं भन्ने प्रतिवद्धता मिलोस् भन्ने शुभकामना त्यस दिनको शुभकामना थियो । नयाँ वर्षमा गरिएको प्रण थियो । म पनि यही प्रण गर्दै नालालाई विदा गर्न पुगें ।
(साभारः “साथी” मासिक, वर्ष १३, अंक २, जेष्ठ २०५४, लेखकः दुर्गाप्रसाद नेपाल)
No comments:
Post a Comment