Saturday, March 24, 2012

विश्वमा दुर्लभ मानिएको अभिलेख नाला, काभ्रेमा

(उग्रचण्डी नाला गाविस वडा नं.२, टुपिचा टोलस्थित चारकुने इनार छेवैको सानो गणेश (पाषण मूर्ति सहित) को मन्दिरको छानोमा रहेको दक्षिणाभिमुख अभिलेख । यो अभिलेख इँट्टामा कुँदिएको हुनाले अत्यन्त दुर्लभ छ । उक्त अभिलेख नेपाल भाषा प्रचलित लिपिमा लेखिएको छ । सो अभिलेखमा नेपाल सम्वत ७३७ उल्लेख छ । उक्त अभिलेखले जयराम भारो र ................. भारो दुई जनाले इनार अगाडिको गणेशमन्दिर सम्वत ७३७ वैशाख १ गते निर्माण गरेको देखिन्छ ।


अभिलेखको मूलपाठ

१. शुभ ।। श्री श्री तुथि पोर यिनाय जु सं...............
२. अतन देवर दयका ..... जयराम भारो............
३. भारो नेम्हं फुकिजि सश्वकामनाथ ................
४. सम्वत् ७३७ वैसाष शुदि १


साभारः अनामणि अभिलेख संग्रह, नाला, भाग – १ मा अभिलेख संख्या ८ मा संग्रहित

तान्त्रिक परिकार समयबजि

– रत्नप्रसाद श्रेष्ठ

संस्कृति जातिको पहिचान हो । प्रत्येक जातिको आ–आफ्नै मौलिक संस्कृति हुन्छ । प्रत्येक जातिले आ–आफ्नो संस्कृति संरक्षण र सम्वद्र्धन गर्नु आफ्नो जातीय कर्तव्य हो । हाम्रो नेपाली समाज विभिन्न जातीय पूmलबारी मिलेर बनेको छ । नेपाली समाजको सामाजिक संरचना जातिपिच्छे फरक छ । नेपाली समाजको संस्कृति भन्नाले विभिन्न जातजातिको भाषा, भाषी, धर्म, साहित्य, कला, दर्शन, इतिहास आदि विषयको परम्पराको समष्टिरुप मान्नुपर्दछ । संस्कृतिले विभिन्न जातजाति, भाषाभाषी र धर्म आदिको विशेषतालाई चिनाउँछ । ती संस्कृतिहरु सुखमय जीवनयापनको लागि नभई नहुने हुन्छ । यसै सन्दर्भमा नेवारी संस्कृतिमा निकै लोकप्रिय ‘समय्बजि’ लाई लिन सकिन्छ ।
समय् भोय् नेवारहरुको विशेष संस्कृति हो । हुनत समय्को अर्थ यही हो भन्न कठिन छ, तापनि समय् भनेको साधारण रुपले हेर्ने हो भने स्याःबजि (एक प्रकारको च्युरा), हाकु मुस्या (कालो भटमास), पालु कुचा (अदुवाको टुक्रा), ङा (माछा) र वो (बारा) को पञ्च तत्व स्वरुपको तान्त्रिक खानेकुरा हो भन्ने बुझ्नुपर्दछ । स्याःबजि भन्नाले आकाशको प्रतीक, हाकु मुस्या भन्नाले वायुको प्रतीक, अदुवाका टुक्रा तेजको प्रतीक, माछा जलको प्रतीक र बारा पृथ्वीको प्रतीकको रुपमा लिएका छन् । यी पञ्चतत्वयुक्त खानेकुरालाई नेवारी संस्कृतिमा विभिन्न देवदेवीहरुलाई नैवैद्यको रुपमा चढाइन्छ । यी पञ्चतत्वमा अरु तीन प्रकारका खानेकुराहरु उसिनेर तारेको अण्डा, बोडी उसिनेर भुटेको र चिउरा मिसायो भने समय्बजि बन्दछ । आजभोलि यो समयबिजमा अरु विभिन्न खानेकुराहरु पनि समावेश गरिएको पनि पाइन्छ । जस्तैः आलुको परिकार, हरियो सागसब्जीको परिकार, काँचो लसुनको परिकार, काँचो मुछिएको मासु (न्हायागु कँचिला), पोलेको मासु (छुयागु छुयला) आदिलाई समय् भोय् पनि भनिन्छ । समय् सँगै रक्सी र जाँड पनि चाहिन्छ । तर हिजोआज चिया, सर्बत, कोक आदि प्रचलनमा ल्याएको पाइन्छ । भोज र समय् भोय्मा केही फरक छन् । समय् भोय्मा भोजमा जस्तै विभिन्न परिकारहरु पछि थप राख्न ल्याउँदैनन, पहिलै नै राखेको हुन्छ । कुनै कुनै बेलामा चतामारी, स्वारी, मालपुवा, हलुवा आदि पनि समावेश गरिएको हुन्छ । समय्बजि नेवारी पूजाआजामा सबैभन्दा पहिले देवीदेवताको पूजा गरिसकेपछि देवीदेवताको टीका, माला, पूmल लिइसकेपछि प्रसादको रुपमा खाने चलन छ ।
समय्बजि अथवा समय् भोय् खाँदा हुने फाइदाहरु र यसका महत्व, उपयोगिता, सान्दर्भिकता, प्रयोजन, जनविश्वास, लोकप्रियता आदिबारे विस्तृत रुपमा अध्ययन अनुसन्धान गर्नुपर्दछ । नत्र यस्ता तान्त्रिक खानेकुराहरु हाम्रा अग्रजहरुले खानका लागि मात्र नीति नियम बनाएको कदापि होइनन् । यस विषयमा आम नेवारहरुको लागि मात्र नभई सम्पूर्ण नेपालीहरुका लागि एउटा खोजको विषय बनेको छ ।
साभारः ‘काभ्रे टाइम्स’ साप्ताहिक, वर्ष ५, अंक १७, २०५८ साल बैशाख २५ गते मंगलबार

नेपालको पहिलो दूध उत्पादन गर्ने कारखाना



काभ्रेली किसानलाई व्यवसायिक दूध उत्पादनतर्फ आकर्षित गर्ने नेपालको पहिलो झोल दूध उत्पादन गर्ने कारखाना जीर्ण अवस्थामा पुग्दासम्म पनि कसैको ध्यान आकर्षण गर्न सकेको छैन । स्वीस सरकारको सहयोगमा उग्रचण्डी नाला गाविसको चिसापानी टुसालस्थित मुलुककै पहिलो चिलिङ सेन्टरको रुपमा वि.सं.२००९ सालमा स्थापित भएको थियो ।

गरिबी उन्मूलनको पवित्र उद्देश्यले स्थापित उक्त संस्था प्रयोगमा नआएपछि सो कारखाना जीर्ण अवस्थामा पुगेको छ । निर्वाचनको बेलामा मतदान केन्द्रकोरुपमा प्रयोग गरिए पनि हाल यसको प्रयोग भएको छैन । जीर्ण अवस्थामा पुगेको त्यस भवनलाई ऐतिहासिक प्रमाणको रुपमा लिई सम्बन्धित निकाय तथा स्थानीयबासीले फेरि एकपटक मर्मत सम्भार गरी संरक्षण गर्नु नितान्त आवश्यक छ । चिलिङ सेन्टर बन्द भएपछि उक्त कारखानामा रहेका लाखौं मूल्यका मेशिनलाई एउटा संग्रहालयको रुपमा संरक्षण गर्नु सम्पूर्ण नेपालीको कर्तव्य हुन आउँछ ।

भग्नावशेष रुपमा मात्र बाँकी रहेको यस अमूल्य सम्पत्तिलाई बेलैमा संरक्षण र पुनः सञ्चालन गर्नु बुद्धिमानी हुने भएकोले आउँदा दिनहरुमा यसतर्फ यसतर्फ नालावासी तथा सम्बन्धित निकाय चनाखो हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।

Saturday, March 17, 2012

नाला भगवतीका कलात्मक सिंहशार्दूलहरु


हाम्रा प्राचीन मन्दिरहरुमा हामीले गहिरिएर हेर्ने हो भने निकै सुन्दर कलात्मक अभिव्यक्तिहरु प्रशस्त पाउँछौ । ती अभिव्यक्तिहरुलाई पाएसम्म आकर्षक, ओजस्वी, अर्थपूर्ण एवं दार्शनिक गहनता भरिपूर्ण बनाउन हाम्रा हाम्रा बास्तुविदहरु निपुण छन् । ती अभिव्यक्तिहरु धातु, काष्ठ, ढुङ्गा आदिमा कोरेर आफ्ना सीपको गहिरो आध्यात्मिक दर्शन युगौंसम्म रहने गरी अभिव्यक्त गरेका हुन्छन् । ती कलाकारले जतिपनि कलाकृति खोपेका हुन्छन् तिनमा आफ्नैपनको मौलिकता रहनुकोसाथै थुप्रै विशेषताहरु पनि रहेका हुन्छन् ।

यसै सन्दर्भमा नाला भगवती मन्दिरको छानाको कुनाहरुमा छानामुनि सबभन्दा बोझिलो भार उठाएर आफ्नो पुरुषार्थ देखाइरहेका “कूँ सल” लिन सक्छौं । “कूँ सल” नेवारी शव्द हो । यसको अर्थ “कुनाको घोडा” भन्ने बुझिन्छ अर्थात मन्दिरको छानाको बोझिलो भाग उठाउने सर्वशक्तिमान कुना घोडा । यो एउटा काल्पनिक जन्तु हो । यसलाई नेपाली भाषामा सिंहशार्दूल पनि भन्ने गरिन्छ । साँच्चिकै भने हो भने नेपालमा सिंहशार्दूल नभएको मन्दिरै छैन भने पनि हुन्छ । त्यसैले नेपाली बास्तुकलामा यसले एउटा महत्वपूर्ण स्थान ओगटेको छ । यस्ता सिंहशार्दूल भएका हेर्न लायक मन्दिरहरु मध्ये काभ्रे जिल्लाको उग्रचण्डी गाविस नालामा रहेको नेपालका चार प्रसिद्ध भगवती मध्ये एक उग्रचण्डी भगवतीको मन्दिरलाई लिन सक्छौं । यस मन्दिरको पहिलो तल्लाको छानाको मुनि चारवटा कुनाको टुँडालहरुमा अवर्णनीय कलात्मक सिंहशार्दूलहरु रहेका छन् । ती चार सिंहशार्दूलहरु मध्ये दुईवटा भाले र दुईवटा पोथी रहेका छन् । यो जन्तु हेर्दैमा ज्यादै सुन्दर कलात्मक सजीवताले भरिपूर्ण भए तापनि कलाकारले यस जन्तुमा तीनवटा जनावरहरु घोडा, सिंह र बोका एउटै जन्तुमा गाभेर नेपाली बास्तुकलालाई निकै तिखारेको देखिन्छ । यसको अनुहार र शरीरको बनोट धेरैजसो घोडासंग मिल्दोजुल्दो छ भने खुट्टाहरु सिंहसंग र सिंग, आँखा चाहिँ एकदम मताहा बोकाको जस्तो देखिन्छ । यस जन्तुको चारै खुट्टामा पखेटाहरु छन् जसको प्रतिक बायुवेगयुक्त भन्ने हुन्छ । भाले सिंहशार्दूलहरुको यौन चिन्हबाट अन्दाज गर्न सकिन्छ कि यो बडो पुरुषार्थशाली देखिन्छ किनभने त्यस यौन अंगमा साना साना बाँदरहरु अंगालो हालेर बस्दापनि कुनै हलचल भएको देखिदैंन । यसबाट उसको बलवीर्यको अन्दाज हुन्छ । यसको टनक्क परेको सुडौल र सशक्त शरीर देख्ने बित्तिकै यो जन्तुमा अलौकिक शक्ति र सामथ्र्य रहेको प्रतीक हुन्छ । हाम्रा मन्दिरहरुमा रहेका कलाहरुमा प्रतीकको विशेष स्थान छ । यो हुनुमा आध्यात्मिक र दार्शनिक पक्ष गहन हुनु नै हो । 

यस सिंहशार्दूलबारे हाम्रा संस्कृतिका अग्रज ध्रुबकृष्ण ‘दीप’को निचोड अनुसार “यी जन्तुहरु मन्दिरहरुमा बलको प्रतीकको रुपमा मात्र रहेका छैनन्, मन्दिरका दिक्पालको रुपमा पनि रहेका छन् । मन्दिरलाई सम्हाल्ने र यसको समुचित संरक्षण गर्ने अभिप्रायको अभिव्यक्ति यिनीहरुको मुखाकृति र यिनीहरु उभिरहेको मुद्राबाट पनि स्पष्ट हुन्छ । प्रत्येक टुँडालको काम छानाको भारलाई सम्हाल्ने हुन्छ र त्यसकारण टुँडालको काठ बलियो हुनुपर्छ तर एउटा भावुक र प्रतिभाशाली कलाकारलाई त्यो टुँडालको काठ बलियो हुनुले मात्र चित्त बुझेन । अतः उनले त्यो बलियो टुँडालको काठमाथि एक असाधारण अलौकिक बल जन्तुको पनि सिर्जना गरे । कलाकारले सिर्जेको त्यो जन्तुलाई झट्ट हेर्दा त्यो जन्तु केवल काल्पनिक हो भन्ने लाग्दछ । तर त्यस्तो जन्तु हुनै सक्दैन भनेर अविश्वास गर्न कठिन पर्छ नै ।” 

जे होस् हाम्रा यी कलाकारहरु आफ्ना कथा व्यथाहरुसंग विलिन भईसके । बचेखुचेकाहरु पनि विलिन हुने क्रममा छन् । यस्ता कलाधर्मीहरुलाई हामीले बचाई राख्नु नितान्त आवश्यक देखिन्छ । यी कुशल सीपहरु एकपुस्ताबाट अर्कोपुस्तालाई हस्तान्तरण गर्दै र ती कलाकृतिको सही अर्थमा गहन अध्ययन अनुसन्धान तथा सार्वाधिक हितको लागि प्रचारप्रसार र कलाको मर्म बुझ्नु आम नेपालीको कर्तव्य हुन आउँछ । यदि हामी समयमा ब्युँझिएनौ भने पक्कै पनि यसले राम्रो संकेत गरेको देखिदैंन ।