हाम्रा प्राचीन मन्दिरहरुमा हामीले गहिरिएर हेर्ने हो भने निकै सुन्दर कलात्मक अभिव्यक्तिहरु प्रशस्त पाउँछौ । ती अभिव्यक्तिहरुलाई पाएसम्म आकर्षक, ओजस्वी, अर्थपूर्ण एवं दार्शनिक गहनता भरिपूर्ण बनाउन हाम्रा हाम्रा बास्तुविदहरु निपुण छन् । ती अभिव्यक्तिहरु धातु, काष्ठ, ढुङ्गा आदिमा कोरेर आफ्ना सीपको गहिरो आध्यात्मिक दर्शन युगौंसम्म रहने गरी अभिव्यक्त गरेका हुन्छन् । ती कलाकारले जतिपनि कलाकृति खोपेका हुन्छन् तिनमा आफ्नैपनको मौलिकता रहनुकोसाथै थुप्रै विशेषताहरु पनि रहेका हुन्छन् ।
यसै सन्दर्भमा नाला भगवती मन्दिरको छानाको कुनाहरुमा छानामुनि सबभन्दा बोझिलो भार उठाएर आफ्नो पुरुषार्थ देखाइरहेका “कूँ सल” लिन सक्छौं । “कूँ सल” नेवारी शव्द हो । यसको अर्थ “कुनाको घोडा” भन्ने बुझिन्छ अर्थात मन्दिरको छानाको बोझिलो भाग उठाउने सर्वशक्तिमान कुना घोडा । यो एउटा काल्पनिक जन्तु हो । यसलाई नेपाली भाषामा सिंहशार्दूल पनि भन्ने गरिन्छ । साँच्चिकै भने हो भने नेपालमा सिंहशार्दूल नभएको मन्दिरै छैन भने पनि हुन्छ । त्यसैले नेपाली बास्तुकलामा यसले एउटा महत्वपूर्ण स्थान ओगटेको छ । यस्ता सिंहशार्दूल भएका हेर्न लायक मन्दिरहरु मध्ये काभ्रे जिल्लाको उग्रचण्डी गाविस नालामा रहेको नेपालका चार प्रसिद्ध भगवती मध्ये एक उग्रचण्डी भगवतीको मन्दिरलाई लिन सक्छौं । यस मन्दिरको पहिलो तल्लाको छानाको मुनि चारवटा कुनाको टुँडालहरुमा अवर्णनीय कलात्मक सिंहशार्दूलहरु रहेका छन् । ती चार सिंहशार्दूलहरु मध्ये दुईवटा भाले र दुईवटा पोथी रहेका छन् । यो जन्तु हेर्दैमा ज्यादै सुन्दर कलात्मक सजीवताले भरिपूर्ण भए तापनि कलाकारले यस जन्तुमा तीनवटा जनावरहरु घोडा, सिंह र बोका एउटै जन्तुमा गाभेर नेपाली बास्तुकलालाई निकै तिखारेको देखिन्छ । यसको अनुहार र शरीरको बनोट धेरैजसो घोडासंग मिल्दोजुल्दो छ भने खुट्टाहरु सिंहसंग र सिंग, आँखा चाहिँ एकदम मताहा बोकाको जस्तो देखिन्छ । यस जन्तुको चारै खुट्टामा पखेटाहरु छन् जसको प्रतिक बायुवेगयुक्त भन्ने हुन्छ । भाले सिंहशार्दूलहरुको यौन चिन्हबाट अन्दाज गर्न सकिन्छ कि यो बडो पुरुषार्थशाली देखिन्छ किनभने त्यस यौन अंगमा साना साना बाँदरहरु अंगालो हालेर बस्दापनि कुनै हलचल भएको देखिदैंन । यसबाट उसको बलवीर्यको अन्दाज हुन्छ । यसको टनक्क परेको सुडौल र सशक्त शरीर देख्ने बित्तिकै यो जन्तुमा अलौकिक शक्ति र सामथ्र्य रहेको प्रतीक हुन्छ । हाम्रा मन्दिरहरुमा रहेका कलाहरुमा प्रतीकको विशेष स्थान छ । यो हुनुमा आध्यात्मिक र दार्शनिक पक्ष गहन हुनु नै हो ।
यस सिंहशार्दूलबारे हाम्रा संस्कृतिका अग्रज ध्रुबकृष्ण ‘दीप’को निचोड अनुसार “यी जन्तुहरु मन्दिरहरुमा बलको प्रतीकको रुपमा मात्र रहेका छैनन्, मन्दिरका दिक्पालको रुपमा पनि रहेका छन् । मन्दिरलाई सम्हाल्ने र यसको समुचित संरक्षण गर्ने अभिप्रायको अभिव्यक्ति यिनीहरुको मुखाकृति र यिनीहरु उभिरहेको मुद्राबाट पनि स्पष्ट हुन्छ । प्रत्येक टुँडालको काम छानाको भारलाई सम्हाल्ने हुन्छ र त्यसकारण टुँडालको काठ बलियो हुनुपर्छ तर एउटा भावुक र प्रतिभाशाली कलाकारलाई त्यो टुँडालको काठ बलियो हुनुले मात्र चित्त बुझेन । अतः उनले त्यो बलियो टुँडालको काठमाथि एक असाधारण अलौकिक बल जन्तुको पनि सिर्जना गरे । कलाकारले सिर्जेको त्यो जन्तुलाई झट्ट हेर्दा त्यो जन्तु केवल काल्पनिक हो भन्ने लाग्दछ । तर त्यस्तो जन्तु हुनै सक्दैन भनेर अविश्वास गर्न कठिन पर्छ नै ।”
जे होस् हाम्रा यी कलाकारहरु आफ्ना कथा व्यथाहरुसंग विलिन भईसके । बचेखुचेकाहरु पनि विलिन हुने क्रममा छन् । यस्ता कलाधर्मीहरुलाई हामीले बचाई राख्नु नितान्त आवश्यक देखिन्छ । यी कुशल सीपहरु एकपुस्ताबाट अर्कोपुस्तालाई हस्तान्तरण गर्दै र ती कलाकृतिको सही अर्थमा गहन अध्ययन अनुसन्धान तथा सार्वाधिक हितको लागि प्रचारप्रसार र कलाको मर्म बुझ्नु आम नेपालीको कर्तव्य हुन आउँछ । यदि हामी समयमा ब्युँझिएनौ भने पक्कै पनि यसले राम्रो संकेत गरेको देखिदैंन ।
No comments:
Post a Comment