Saturday, September 7, 2013

नालाको पर्यटन विकासको लागि प्रवद्र्धन समिति गठन गरिनुपर्ने

प्रचुर पर्यटकीय सम्भावना रहेको काभ्रेको उग्रचण्डी नाला गा.वि.स.लाई “पर्यटकीय हब गा.वि.स.” का रुपमा विकास गर्न पर्यटन गुरुयोजना तयार पार्नुपर्ने देखिन्छ । उक्त गुरुयोजना धार्मिक पर्यटन, कृषि पर्यटन, प्राकृतिक पर्यटन विकासका लागि महत्वपूर्ण हुने देखिन्छ । त्यसको लागि गा.वि.स.मा आगामी दिनमा गुरुयोजना तयार गर्न तथा पर्यटन प्रवद्र्धन समिति गठन गरी निश्चित रकम छुट्याउन पहल गर्नुपर्छ ।
नाला गा.वि.स.लाई पर्यटकीय हबका रुपमा विकास गर्न पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार, निर्माण, प्रचारप्रसार, प्राकृतिक स्रोत व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, होम स्टे विस्तार तथा व्यवस्थापन, पर्यटन शिक्षा, सूचना केन्द्र स्थापना लगायत विविध पक्षको अध्ययन तथा अनुसन्धान गर्नु जरुरी देखिन्छ ।

Saturday, July 6, 2013

नालाको प्रजातान्त्रिक योद्धा स्व. भैल श्रेष्ठ

युवा अवस्थामा के जोश आएछ कुन्नि ? जे सामान लानु परेपछि जान तयार भएर हर्ष दाइले बाह्र जना भरियाहरुलाई बोकाएर नभ्याएको केही सामान भरिया सरह आफैले बोक्दा पनि त्यसबेला कठिनाई नभएको अनुभव सुनाए । त्यसबेला उनीहरुले ल्याएका सामानहरुमा पेस्तोल, बन्दुक, वायरलेस सेट, बम ..... आदि थिए । यी सामान ल्याउन भारी बोक्ने एक जना नाला निवासी भैल श्रेष्ठ पनि थिए । उनले बोकेको बम पड्केको भए बाटैमा उनी धुलो पीठो हुन्थे । नेपालमा प्रजातन्त्र आएपछि भैल श्रेष्ठले अरु रोजगारी नपाएर पत्रिका बेचेर जीवन यापन गरे रे । त्यतिमात्र कहाँ हो र, सुनिए अनुसार मर्ने बेलामा काठमाडौंको पाटी बाहेक विश्रामस्थल कहीँ भएन । यस्तो साहसिलो कार्यकर्तालाई न प्रजातान्त्रिक सरकारले, न त काम लगाउने नेताले, न त काँग्रेस पार्टीले वास्ता गरे । विडम्वना ।

राणा सरकारको विरुद्ध चलाउन ल्याइएको हातहतियार संगसंगै नेताहरु गणेशमान सिंह, सुन्दरराज चालिसे र कार्यकर्ता नेपालगञ्जका दिलमान सिंह, दाप्चाका एक जना लामा, नेपालगञ्जकै पूर्ण, महादेवटारको बाटो देखाउने मकर श्रेष्ठ, नालाको भैल श्रेष्ठ र हर्षलाल श्रेष्ठ बाह्रजना भरियाहरका साथमा नेपालभित्र लम्केका संस्मरण हर्ष दाइको मनमा ताजै छ ।

माथि उद्यृत गरिएका पंक्तिहरु आशाकाजी सेवकज्यूले २०५७ चैत्र २८ गते काभ्रे टाइम्स साप्ताहिकमा “जमानाका काँग्रेस हर्षलाल ः एक कर्मशील व्यक्तित्व” शीर्षकमा छापिएको लेखबाट लिइएको हो ।

वि.सं. २००७ सालमा नै बम बोकी हिँड्ने महान सहयोद्धा भैल श्रेष्ठको नाम आज कतै सुन्नमा आउँदैन । ती महान व्यक्तित्वको योगदानको खोजी, कदर र प्रकाशन गर्दै लैजानु पर्ने हो । यस्ता निडर योद्धा व्यक्ति नेपालमा विरलै पाइन्छ । प्रजातन्त्र आएपछि पनि तिनीहरुको कदर भएन । प्रजातान्त्रिक योद्धा कसैको पछि लागि पिछलग्गु बन्न चाहेनन् । शायद जनताको छोराले नेपालमा बम बोक्ने पहिलो उहाँ नै हुनुपर्छ, माथि उधृत लेखलाई राम्ररी अध्ययन गर्दा बाह्र जना भरियाहरु मध्ये एक आँटिलो भरिया भैल श्रेष्ठले मात्र बम बोकेको कुरा स्पष्ट हुन्छ । यस्ता महान योद्धाहरुलाई कुनै पनि पार्टीले केही नगरे पनि हामीहरुले सधैं मनमा राख्नुपर्छ । आगामी दिनहरुमा यसबारे आपूmले थाहा पाएसम्मका सूचनाहरु कृपया हामीलाई पठाउन नभुल्नु होला ।

साँच्चिकै भन्नुपर्दा स्व. केदार प्रधानको शव्दलाई सापटी लिएर भन्ने हो भने “जनताद्वारा गरिएका कामका परिणाम युगान्तकारी परिवर्तन भए तापनि त्यसको चर्चा गरिदैंन । एउटा शासकवंशले अर्को शासकवंशलाई पराजित गरेको मात्र इतिहासका प्रकाशित पुस्तकहरुमा वर्णित छ तर प्रतिरोधमा चलाइएका संघर्षको वर्णन पाइदैंन ।” 

Saturday, May 25, 2013

टिपनटापन

काठमाडौं उपत्यकासंगैको पर्यटकीय गन्तव्यस्थलको रुपमा रहेको नाला क्षेत्रको पर्यटन प्रवद्र्धन हुन नसकेको अवस्था विद्यमान छ । यसतर्फ सम्बन्धित निकाय, बौद्धिक समूह र स्थानीयवासी लाग्नु जरुरी देखिन्छ ।


नब्बे सालको महाभूकम्पमा नाला क्षेत्रको भू–भागमा पनि निकै क्षति भएको देखिन्छ । उक्त समयमा भत्केका, पुरिएका अमूल्य र इतिहास बोकेका कैयौं मठ मन्दिरको भग्नावशेष, पुरानो शिलापत्र, ताम्रपत्र संकलन तथा प्रकाशन गर्नु अत्यन्त जरुरी देखिन्छ ।


नाला क्षेत्रमा प्रशस्त मात्रामा जलद्रोणीहरु पाइन्छ । तिनै जलद्रोणीले उसबेला खानेपानीको सुविधालाई सहज र सरल बनाएको प्रष्ट थाहा हुन्छ । हाल यिनै जलद्रोणीहरु यत्रतत्र छरिइरहेका छन् । त्यसको उचित व्यवस्थापन गर्ने र सो को अभिलेख राख्ने परम्परालाई प्रोत्साहन दिनुपर्छ । ती जलद्रोणीलाई नेवारी भाषामा “नाः गः” भनिन्छ । यिनै नाः गः बाट “नाला” भन्ने नामाकरण हुन गएको पनि बलियो सम्भावना छ ।


नाला क्षेत्रमा घर तथा भवनहरु बनाउँदा भेटिएका मूर्ति, शिलापत्र तथा विभिन्न कलात्मक ढुङ्गामा तथा ईटामा कुँदिएका टुक्राटुक्रीहरु भेटिएमा सो को संकलन तथा संरक्षण गर्नु अति आवश्यक देखिन्छ । यिनै प्रमाणहरुले थुप्रै तथ्यहरु प्रकाश पार्दछ ।

नालाको दरबार

नालाको दरबार कस्तो छ ? कहाँ छ ? यसको फोटो भए हेर्न पाए हुन्थ्यो भन्नेबारे सबै नालामी दाजुभाइहरुमा खुल्दुली भइरहेको होला । यसबारे हामीले अध्ययन गरी रहेका छौं ।

श्री उग्रचण्डी भगवती मन्दिरबाट दक्षिणतर्फ नालाको दरबार क्षेत्र १ अर्थात “क्वाठ” रहेको उल्लेख गरिएको छ । उक्त स्थान हालको चण्डेश्वरी उच्च मा.वि. रहेको स्थान पर्दछ । चण्डेश्वरी उच्च मा.वि. नजिकै रहेको बारीको नाम हालसम्म पनि जनजिब्रोमा “क्वा किबा” रहेकोले पनि उक्त स्थान दरबार क्षेत्र हो भन्ने बलियो प्रमाण हो भन्न सकिन्छ । दरबारको पश्चिमतर्फ ठूलो सत्तल (वाहा) रहेको छ । त्यसको दक्षिणतर्फ १७ रोपनी खेत दरबार सञ्चालन गर्न विर्ताको रुपमा रहेको दरबारमा बगैंचा समेत रहेको कुरा उल्लेख गरेको पाइन्छ । दरबार कलात्मक ठूलो सात चोक भएको बनाइएको थियो र दरबारमा करीब करीब बीचमा ठूलो इनार पनि रहेको थियो । दरबार नजिकै चारैतर्फ माथि पर्खालमा नागले घेरिरहेको कलात्मक ढुङ्गेधारा रहेको थियो । 

दरबार सञ्चालन गर्न दरबारदेखि दक्षिण बगैंचा र बगैंचाको साथ संगै दक्षिणतर्फ भादगाउँको राजा भूपतेन्द्र मल्लले दश रोपनी खेत विर्ता दिएको उल्लेख गरिएको छ । दरबार नजिकै नालाको प्रवेश द्वार लायकू ध्वाका रहेको थियो जुन अहिले अवशेषको रुपमा हालको चण्डेश्वरी उच्च माविको कम्पाउण्ड पर्खालले थिचेको छ । सो ध्वाका (द्वार) लाई राजकुल ध्वाका भनिन्थ्यो । यिनै ध्वाकाबाट नालामा विवाह अथवा शुभ कार्य गर्दा भित्र प्रवेश गर्ने र बाहिर निस्किने गरिन्छ । यो परम्परा हालसम्म पनि कायमै रहेको देखिन्छ । ध्वाकाहरु मध्ये सर्वश्रेष्ठ राजकुल ध्वाका अर्थात लायकू ध्वाका हो । कुनै पनि शहर वा देशको शोभा भनेकै त्यतिखेर लायकू ध्वाका हो । चाहे पाटनको लायकू ध्वाका होस्, चाहे भक्तपुरको लायकू ध्वाका होस् । ती ध्वाकामा नेवारी पूजाआजाको प्रतीक स्वरुपम विभिन्न चित्रात्मक चित्र वा मूर्ति कुँदिएको हुन्छ । 

राजा बसेर शासन चलाउने दरबार नै लायकू हो । लायकू भनेको राजकुल अथवा लालकुल(लालकुलबाट लायकू शव्दको उत्पत्ति भएको) हो । लायकू शव्द मल्ल शासनको मध्यकालदेखि चल्दै आएको पाइन्छ । आफ्नो देशको सुरक्षाको लागि ठूलो ढुङ्गाको पर्खालले सातवटा प्रवेशद्वार, अष्टमातृका गणहरुले घेरिएको राज्य खडा गरेका थिए । राजा बस्ने ती राजगृहहरु पनि लायकू नै थिए । ती दरबारमा देश नायक वा क्वाथ नायक बस्ने गरेको हुन पर्दथ्यो । त्यही दरबारबाट दशैं, नवदुर्गा जस्ता पर्वमा विभिन्न विधिको पूजा हुने गर्दथ्यो तथापि हालसम्म पनि केही चलनमा रहेको पाइन्छ, खासगरी मल्लकालीन दरबारहरुका क्षेत्रभित्र नाटक मञ्चन गर्न डबली, पानीका लागि पोखरी, इनार र ढुङ्गेधारा, धार्मिक पूजाआजाका लागि लक्ष्मी, सरस्वती, गणेश, कुमार, भगवती, तलेजु, नारायण, शिवपार्वती, कुमारी जस्ता देवी देवताहरु स्थापना गरिएको हुन्थ्यो । मुख्य दरबार बाहिर कलात्मक पाटी पौवा रहनुका साथै दरबारको मध्य भागतिर प्रमुख राजभवन, गृह्योद्यान (दरबारभित्रको बगैंचा), व्यायामभूमि, स्नानगृह, भान्साघर आहार मण्डप रहेको पाइन्छ । यी सबै चिजहरु नाला दरबारमा पनि अवश्य रहेको हुनु पर्दछ ।

१. नालादेशको परिचय, डा. ज्ञानलाल श्रेष्ठ

काभ्रेका सो¥हखुट्टे पाटीहरु मध्ये नालाको सर्वश्रेष्ठ



बनेपाको तीनधारामा रहेको सो¥हखुट्टे पाटी, धुलिखेलको नारायणस्थानमा रहेको सो¥हखुट्टे पाटी, पनौति अधाटोलमा रहेको सो¥हखुट्टे पाटी, श्रीखण्डपुरमा रहेको सो¥हखुट्टे पाटीहरु मध्ये सर्वश्रेष्ठ र कलात्मक पाटी नाला भगवती मन्दिर छेउको सो¥हखुट्टे पाटी हो । यी पाटीहरु आ–आफ्नो देशको केन्द्रीय स्थलमा निर्माण गरिएको हुन्थ्यो । उक्त पाटीहरुमा न्याय सम्पादन तथा बुद्धिजीवी एवं मान्यजनहरु बसी विविध कार्यक्रम गरिन्थ्यो । साँझतिर दफा भजन खलहरुले भजन गाउने गरिन्थ्यो । आ–आफ्नो इष्ट देवताको भजनलाई प्रमुखता दिइन्थ्यो । विविध चाडपर्वहरुमा हुने साँस्कृतिक कार्यक्रमहरुमा पनि उक्त पाटीको महत्वपूर्ण स्थान हुन्थ्यो जस्तै नवदुर्गा नाच, स्थानीय जात्रा, भजन तथा गायनको प्रशिक्षण, विभिन्न देवी देवताहरुको प्रदर्शन आदि कार्य सम्पादन गर्दा उक्त पाटीहरुको महत्वका साथै शोभा रहन्थ्यो ।

नाला उग्रचण्डी भगवतीको सृष्टिकालको “उत्तरापुर” को भजन

(नेवारी भाषामा लेखिएको भजन)

उत्तरापुर दक्षिण सोसे उग्रचण्डी भगवती
उग्रचण्डी भगवती, उग्रचण्डी भगवती, माई ।।
षेनगुका लाहातिन नाना शस्त्र धारण यासे
शुम्भ निशुम्भ रगतविजे फुतकुम्ह इश्वरी ।।१।।

जव सिद्धी गणाशपति पंचाइनी सहितनं
षव नाथेश्वर कुमार माहाकाल भैरब ।।२।।

जव हनु भैरब षव शारदादेवी
जवल खवल सिंहल निम्ह रसनं आनन्दनं ।।३।।

ब्रम्हायनी महाकाली वारायणी गणदेवी
नण्यमाता पुण्यमाता उत्तरबाहिनी तिरथ ।।४।।

गुप्तबानेश्वर स्थाने नन्दीकेश्वर रिंगे
मनीमय पर्वत महादेव पोखरी ।।५।।

ल्हाल ज्ञानी दासमानी छी पाली भोकपुया
भगवतीया नामध्यान चित्त थीर फोने मां ।।६।।


(इपाटोलको भजनमाला पुस्तकबाट उद्धृत गरिएको)

Friday, April 19, 2013

यम्ह द्यो

हरेक वर्षको भाद्र शुक्लपक्ष एकादशीका दिन करीब १६–१७ फिटको लिंगो काभ्रे नाला बजारको बीचमा (नजरमानको घर नजिक) गाड्ने चलन छ । लिंगोको टुप्पोमा पुरानो नाङ्गलो र मुनितिर तामाको चिटिक्क परेको युवक मुहारको र्मूिर्त बाँधिएको हुन्छ । त्यस मूर्तिको अलिकति तलतिर उखुको पातबाट दुईवटा हातहरु बनाएको हुन्छ । सो हातको टुप्पोमा फलपूmल झुण्डिएका हुन्छन् । यस लिंगोलाई  “यम्ह द्यो” भनिन्छ । कसैकसैले “ल्याम्हो द्यो” भन्ने गरेको पनि पाइन्छ । यसलाई भाद्र शुक्लपक्ष एकादशी देखि आठ दिनसम्म उभ्याउने चलन छ ।
 
 “यम्ह द्यो” लाई चोर देवता पनि भनेर चिनिन्छ । बगैंचामा रहेको फलपूmल चोरेर खाएको हुनाले दण्डस्वरुप  सबैको सामु उभ्याएको हो भन्ने भनाई पाइन्छ । वास्तवमा यस प्रकारका लिंगो सोही दिन नाला शहरको लागन टोल श्री उग्रचण्डी भगवतीको दाहिने वा सोह्र खुट्टे पाटीनिर पनि उभ्याउने परम्परा छ । उक्त लिंगो नाला बजारमा टुपिचा टोल वडा नं. २ निवासी श्री कृष्ण बहादुर श्रेष्ठको घरबाट पूजाका साथ हरेक वर्ष उभ्याउने चलन छ भने लागन टोल निवासी श्री महेश्वर बहादुर श्रेष्ठको घरबाट  निकाल्ने परम्परा छ ।
 
हुन त नाला शहर एउटा यस्तो ऐतिहासिक प्राचीन शहर हो, जुन शहरमा यस्ता ऐतिहासिक क्रियाकलापहरु अनगिन्ति पाइन्छन्, जुन अन्य ठाउँमा भेटाउन साह्रै नै मुश्किल मात्र होइन, पाइदै पाइदैंन । यस्ता थुप्र्रै हाम्रा पुराना संस्कृति र परम्पराहरु लोप हुने स्थितिमा छन् त कतिपय लोप पनि भैसकेका छन्, यसलाई बचाउनु हामी सबैको कर्तव्य हुन आउँछ ।
 
वास्तवमा “यम्ह द्यो” कुन देवताको प्रतीक हो ? यसलाई किन यसरी हरेक वर्ष उभ्याउने गरिन्छ ? भन्ने बार।ेमा खोज गर्ने हो भने यसको कथन काठमाण्डौको इनद्रजात्रासंग मिल्न आउँछ । यस प्रकारको लिंगो उभ्याउने ठाउँमध्ये बनेपा, भक्तपुर र काठमाण्डौ पनि हो तर किंबदन्ती एउटै रहेता पनि यसका विधिहरु फरक फरक हुन सक्दछन् ।
 
खुलस्तरुपमा भन्ने हो भने “यम्ह द्यो” स्वर्गका राजा देवराज इन्द्रको प्रतीक हो तर यसलाई किन उभ्याएको भन्ने बारे एउटा कथन यस प्रकारको छ ः परापूर्वकालमा इन्द्र आफ्नी आमालाई तीज (हरितालिका) मा चढाउनको लागि पारिजातको पूmल स्वर्गलोकमा नपाइने हुनाले पूmल लिन मत्र्यलोकमा झरे । इन्द्र यस लोकमा झर्दा आपूmलाई कसैले पनि नदेखोस् भन्ने मनसाय राखी “शीत” संग लपेटिदैं झरे । उनी शीतको सहाराले लुकीछिपी पारिजात पूmल पूmलिरहेको एउटा बगैंचामा पसी पूmल टिप्दै थिए । तर दुर्भाग्यवश बगैंचाको हेरचाह गर्ने मालीले शीतमा लटपटिएको इन्द्रलाई पक्रे । पूmल चोरलाई दण्ड सजाय स्वरुप दुई हात र दुई खुट्टा बाँधी चौबाटोमा उभ्याई राखे । देवराज इन्द्रले छुट्कारा पाउनको लागि आपूm देवता देखाए पछि छुट्कारा दिए । पूmल चोर्दा नेदेखियोस् भनेर ल्याएको शीत सोही बगैंचे मालीलाई उपहार स्वरुप दिएर इन्द्र स्वर्ग फर्के, उक्त समय नै शीत यस लोकमा झर्न थाल्यो । यसैबेलादेखि नै इन्द्रजात्राको इन्द्रको मूर्तिलाई चोरलाई झैं गरी पाता फर्काएर चौबाटोमा प्रदर्शन गर्ने परम्परा रहँदै आएको छ ।
 
यस किंवदन्ती अनुसार इन्द्रले चोरेको बगैंचा उग्रचण्डी भगवतीको बगैंचा (जुन हालपनि जग्गा बाँकी छ) थियो । त्यसकारण इन्द्रलाई छुट्कारा दिने क्रममा आठौं दिनमा श्री उग्रचण्डी भगवतीको जात्रा गरी सो उभ्याईएको ठाउँमा लगी रथ जुधाई छुट्कारा दिने चलन अद्यावधि छँदैछ । यी आठ दिनमा हरेक साँझ पोडेहरुले बाजा बजाई नाला बजार परिक्रमा गर्ने चलन छ । यसरी बजार परिक्रमा गर्दा बुढापाकहरु इन्द्रको आमा आफ्नो छोरालाई बाँधेर राखेको हुनाले रुदैं आएको भन्ने चलन छ ।
 
यसरी नै बनेपामा स–साना केटाकेटीहरु आ–आफ्नो घरबाट अलिअलि चामल चोरेर सबै एकै ठाउँमा राखी भात पकाई फर्सीको पातमा भात राखी “यम्ह द्यो”लाई चढाउने परम्परा छ । वास्तवमा बालकहरुमा पनि मानवीय भावना हुन्छन् भन्ने कुरा स्पष्ट रुपमा देखाएको छ ।
 
साँच्चिकै भन्ने हो भने यस परम्पराबाट ठूलो शिक्षा बालबालिकाहरुलाई दिन सकिन्छ । यस्तै शिक्षा दिनलाई नै यस्ता परम्पराहरु सञ्चालन गरेको हुनु पर्दछ । इन्द्र जस्तो स्वर्गको राजाले पनि अरुको बगैंचामा पूmलिरहेको पूmल चोर्न जाँदा दण्ड सजाय पाउँछन् भन्ने शिक्षा दिएर चोर्ने मनसायलाई निरुत्साहित पारेको कुरा प्रष्टसंग बुझिन्छ ।
 
स्मरण गर्नुपर्ने कुरा यो छ कि “यम्ह द्यो”लाई उभ्याएको आठौं दिनको मध्यरातमा नाला शहरमा “दुईं चा न्याकेगु” भन्ने एउटा परम्परा छ । त्यस कार्यमा नालाको पुटुवार (दुईं चा) जातिले नाङ्गै रहेर नाला वलाक्षे टोलदेखि टुपिचा टोल हुँदै ईपा टोलसम्म तीनचोटि ओहोरदोहोर गर्दछन् । यसरी आहोरदोहोर गर्ने क्रममा वलाक्षे टोलको डबलीनिर एउटा पोखरी (नः गचा) थियो रे । त्यो पोखरीमा स्नान गरी ईपाटोलको डबलीनिरको लक्ष्मी पोखरीमा स्नान गर्दछ । त्यस व्यक्तिले यसरी स्नान गर्ने बेलामा उसको शरीरभरी चिल्लो हुने गरी तेल लगाएको हुन्छ । ओहोरदोहोर गर्ने बेलामा कुनै पनि व्यक्तिले बाटो काट्नु वा उक्त व्यक्तिलाई छुनु हुँदैन भन्ने धारणा छ । सो कार्य गर्ने बेलामा कुशुलेहरुद्वारा बाजा बजाई रहेको हुन्छ । यसरी तीन चोटि ओहोरदोहोर गरेपछि नाला वलाछेटोलको डबलीनिर भाँड (कारञ्जित) द्वारा पान राखेको हुन्छ । एउटा ढकीमा सो पान लिएर सरासर उग्रचण्डी भगवतीको मन्दिरमा गएर देवीलाई चढाउँछ, त्यसपछि आपूmलाई मन पर्ने एक थूंगा पूmल लिएर घर फर्कन्छ ।
 
यस क्रियाकलापबाट के कुरा स्पष्ट पार्दछ भने पुटुवारले शुद्ध भई एक भक्ति रही श्री उग्रचण्डी भगवतीको आराधना गरी “यम्ह द्यो” लाई छुट्काराको लागि भक्तिभाव देखाएको जस्तो देखिन्छ । त्यस भक्तिभावको प्रभावले भोलिपल्ट बिहान उग्रचण्डी भगवतीको जात्रा गरी “यम्ह द्यो” उभ्याएको ठाउँमा ल्याई उसलाई छुटकारा दिइन्छ । नेवारी भाषामा लिंगोलाई “यसीं” भनिन्छ, यसैबाट “यम्ह” नाम रहेको जस्तो पनि देखिन्छ । अर्कोतर्फबाट १६–१७ फिट अग्लो लिंगो जवान जस्तो देखिएको हुनाले “ल्याम्हो द्यो” बाट अपभ्रंश भई “यम्ह द्यो” भएको हो कि भन्ने तर्क पनि दिन सकिन्छ । त्यसैगरी जब इन्द्र आफ्नो आमाको लागि पारिजातको पूmल टिप्न आएको र आपूmलाई समातेको हुनाले “यो माँ” भनेर आफ्नो आमालाई रुँदै बोलाएको हुनाले यसैबाट “यम्ह” नाम इन्द्रको रहेको हो भन्ने तर्क पनि बलियो छ ।


Wednesday, April 17, 2013

नेवाः सः इन्टरनेट रेडियो : नेपालमण्डल दबू - नेपालभाषाया ईतिहास : शरद कसा

नेवाः सः इन्टरनेट रेडियो : नेपालमण्डल दबू - नेपालभाषाया ईतिहास : शरद कसा: Program  Archive Feb 26, 2013  नेपालभाषाया महारथीपिं गद्यगुरु निष्ठानन्द्, शुक्रराज शास्त्री व चित्तधर हृदयया देन बारे कना दिइ भा...

Saturday, March 30, 2013

स्व. कृष्णप्रसाद किसी श्रेष्ठ


काभ्रे जिल्ला, उग्रचण्डी गा.वि.स.नाला इपाटोल वडा नं. ३ बस्ने पूर्णबहादुर श्रेष्ठ र राममाया श्रेष्ठको कोखबाट वि.सं.२००४ साल भाद्र १ गते जन्मनु भएका श्री कृष्णप्रसाद किसी श्रेष्ठ नाटककार तथा निर्देशक हुनुहुन्थ्यो । उहाँले दर्जनौ नाटकहरुको रचना तथा निर्देशन गरेर नालावासीहरु माझमा सफलतापूर्वक देखाइसक्नु भएको थियो ।
उहाँका ६ जना छोरीहरु कमला, कविता, बबिता, शुष्मा, सरस्वती र सावित्री तथा एक छोरा विकास छन् । शिक्षाको नाममा उहाँले कक्षा ७ सम्ममात्र अध्ययन गर्नु भए तापनि तिखो बुद्धि र बहुप्रतिभाका धनी श्री कृष्णप्रसाद किसी श्रेष्ठले नाटक मात्र होइन, गीत, कविता, प्रहशन, व्यङ्ग्य लेख, निबन्ध र भजनहरु प्नि रचना गर्नु भएको थियो । उहाँका रचनाहरु प्रकाशनको अभावमा मक्किरहेका छन् भने कतिपय रचनाहरु हराइरहेका छन् । जति मात्रामा दर्शकको मन रुवाउन सक्षम हुनुहुन्थयो– उतिकै मात्रामा पेट मिचिमिचि हँसाउन सक्नु उहाँको विशेषता थियो । उहाँ स–साना केटाकेटीहरुदेखि लिएर बुढाबुढीहरुमाझ पनि उतिकै लोकप्रिय हुनुहुन्थयो । आफ्नो संस्कृतिलाई बिर्सनु हुन्न, यी पुर्खाले दिएका सम्पति हुन् भन्ने धारणा राख्नु हुने उहाँ प्रत्येक वर्ष गाईजात्रामा कुनै न कुनै प्रहशन तथा तीखो व्यङ्ग्य लिएर दर्शकमाझमा आउनु हुन्थ्यो ।
उहाँका नाटकहरुमा दुःखी गरीबहरुको कथा र व्यथा यथार्थरुपमा प्रस्तुत भएको पाइन्छ । नाटक गाउँले जनजीवनमा घटेको सत्य घटनाहरुलाई बढी रोचक र सशक्त रुपमा प्रस्तुत गर्न सक्ने क्षमता उहाँमा थियो । उहाँ रचना गर्न जति सिपालु हुनुहुन्थ्यो, त्यतिकै मात्रामा नाटक निर्देशन, नृत्य, संगीतमा पनि दक्ष हुनुहुन्थ्यो । मृदुभाषी, मिलनसार, परिश्रमी, शोषकदेखि डराउनु हुन्न, अन्यायमा निर्भिक भएर बोल्नुपर्छ भन्ने भावना राख्नु हुने श्री कृष्णप्रसाद किसी श्रेष्ठ हामीबाट सदाको लागि वि.सं. २०५१ साल फागुन २९ गते बिदा लिई सक्नु भएको छ ।
उहाँले रचना तथा निर्देशन गर्नु भएका केही नाटकहरु निम्न प्रकारका छन् ः
क. “नमूना” नाटक – वि.सं. २०२७ साल
ख. “सत्य हरिश्चन्द्र” नाटक – वि.सं. २०२८ साल
ग. “अमर प्रेम” नाटक – वि.सं. २०३१ साल
घ. “काँडाको झ्याङ्ग” नाटक – वि.सं. २०३२ साल
ङ. “फाटेको टोपी” नाटक – वि.सं. २०३३ साल
च. “झरेको आँसु चुहेको पसिना” नाटक – वि.सं. २०३८ साल
छ. “एक हाँस्छ अनेक रुन्छ” नाटक – वि.सं. २०४३ साल
ज. “महामाया भगवती” नाटक – वि.सं. २०४४ साल
झ. “खोजतलास, खतम खलास्” नाटक – वि.सं. २०४५ साल

स्मरणीय रहोस्, उहाँका नाटकहरु “काँडाको झ्याङ्ग, फाटेको टोपी, झरेको आँसु चुहेको पसिना, एक हाँस्छ अनेक रुन्छ आदि नाटकहरुलाई विभिन्न ठाउँमा प्रर्दशनका लागि अनुरोध आएका थिए । तर महिला कलाकारको अभाव र पञ्चायती कालरात्रीको कारणले उहाँले देखाउन सक्नु भएन । जेहोस्, उहाँका रचनाहरुलाई सधैंभरि र सबैकालागि जीवन्तता दिन तिनको प्रकाशन गर्नुपर्ने देखिन्छ ।

(साभार ः रत्नप्रसाद अनामणि श्रेष्ठ, जनमत साहित्यिक मासिक, वर्ष १२, अंक १२, साहित्यिक अंक ४९)

Saturday, March 23, 2013

नालाको इतिहासलाई कोट्याउँदा

उपत्यका बाहिरका प्राचीन नगरहरुमध्ये नाला पनि एक मानिएको छ । नाला नेपालका चार प्रसिद्ध करुणामध्ये एक र प्रसिद्ध चार भगवतीहरु मध्ये नेपाल भरकै पहिलो चारतले उग्रचण्डी भगवतीको बासस्थानले गर्दा अति धार्मिक तीर्थस्थल र प्राचीनकालमा “उत्तरपुर” कहलिएको यो शहर सत्ययुगमा राजा दीर्घरथको समयमा “नगिरीपुर” नामले प्रसिद्ध भयो । यसको ॐ सम्वत ११८ वि.सं. ७५१ म राजा शिवदेव द्धितीयको पालामा “नालाङ्गग्राम” शब्दबाट “नालादेश” नामाकरण हुन पुगेको अनुमान गरिएको पाइन्छ । त्यसताका नाला प्राचीन सातगाउँ धुलिखेल, चौकोट, पनौती, खड्पु, साँगा, बनेपा, मध्येको एक गाउँ थियो । यहाँ लिच्छवी कालभन्दा पूर्व राजा दीर्घरथले शासन जमाएका थिए र त्यसबेला यसलाई “नगिरीपूर” भनिन्थ्यो । लिच्छवीकालमा शिवदेव द्वितीयको शासन चल्दा यसलाई “नालाङ्गग्राम” भनियो र मल्लकालमा आएर यक्ष मल्लका पालाबाट “नाला” भनिएको पाइन्छ । त्यतिबेला यहाँ ५०० घर थिए र “५०० नाला” भनिन्थ्यो, जुन अहिले पनि भनिन्छ नै ।

“नाला” उपत्यका भन्दा लगत्तै बाहिर राजधानीबाट २० किमी पूर्व कुनामा रहेको सानो नगर हो, जुन समुद्र तिहदेखि करीब १४६३ मिटर उचाईमा रहेको छ । नालामा विद्यमान प्राचीन किम्वदन्तीलाई कोट्याउँदा सत्य युगमा यहाँ अवस्थित तपोवन (हालको बुले वन) मा ऋषि महिर्षहरु आई तपस्या गर्ने गर्दथे भनिन्छ । वाल्मिकी ऋषिले पनि यसै तपोवनमा आइ तपस्या गरेर वाल्मिकी बने र हालको दुलाल गाउँमा गई कलममा पसी चोपि रामायणको कथा लेख्न शुरु गरे रे । त्यसकारण अहिले पनि त्यो ठाउँलाई “कलममसीको डाँडा” भनिन्छ । यहाँ पञ्च पाण्डवहरु मध्येका जेठा युधिष्ठिरको मन्दिर पनि छ । स्वर्ग जाने क्रममा पञ्च पाण्डवहरु यहाँ बास बसेर गएका थिए रे भन्ने सुनिन्छ ।

यहाँ प्राचीनकालदेखि कुन समय कस्ले शासन ग¥यो भन्ने कुनै इतिहास पाइन्न । तर लिच्छवी कालमा भने यो देश छुट्टै यिो र यहाँको आफ्नै मुद्रा थियो भन्ने कुरा स्पष्ट भएको छ । जुन मुद्रा अहिले पनि वसन्तपुरको संग्रहालयमा सुरक्षित छ । जुन दुईवटा छ र माटाको जस्तै देखिन्छ । लिच्छवीकालमा भने नरेन्द्रदेवका कान्छा छोरा शिवदेव द्वितीयले वि.सं. ७४२ तिर शासन सम्हालेदेखि नाला मै बसी राजकाज चलाएको देखिन्छ । यसको प्रमाण भएको पहिलो अभिलेख वि.सं. ७५१ को नाला अभिलेख हो । नाला लगनटोलमा शिवदेव द्वितीयका रैतिले राखेको अभिलेखमा यो कुरा उल्लेख गरिएको पाइन्छ । त्यसपछि सामान्यतया भक्तपुरमा जो राजा हुन्थ्यो, उसैको राज्यमा नाला गाभिएर वा बेलाबखत छुट्टै भएर पनि चलेको प्रमाणहरु पाइएका छन् । वि.सं. ७४२ पछि नालामा को राजा भयो त्यसको कुनै यथेष्ट प्रमाण पाइएको छैन । तरपनि वि.सं. १२०३ मा आफ्नो ४७ वर्षको उमेरमा राजा आनन्ददेव नालाका राजा भएको देखिन्छ । उनले वि.सं. १२२३ सम्म मात्र नालाको राजकाज चलाए । पछि वि.सं.१४११ मा भने जयस्थिति मल्ल विवाह गरेर राजल्लदेवीका पति भएर रहेका बेला नालामा अर्जुन मल्ल राजा भएको देखिन्छ । त्यो कुरा जयस्थिति मल्लको एउटा शिलालेखमा वि.सं. १४३७ मार्गमा अर्जुन मल्ललाई स–सम्मान सिन्दुरे जात्रा गरेर उनको दरबार नाला पठाइयो भनेर उल्लेख गरेको पाइन्छ । पछि के के उथुलपुथुल भयो त्यो भन्न सकिन्न । तर वि.सं. १५६१ ताका नालामा रण मल्लले राज्य गरे । पछि यक्ष मल्लाका छोरा रत्न मल्लले दाजु राय मल्लको सहयोग सहित भक्तपुर आएका भाइ रण मल्ललाई राँगो लगाएर लखेटी राति नै नाला भञ्याङ्ग कटाए भनी वि.सं. १५६२ को पशुपतिको ताम्रपत्रमा उल्लेख गरिएको छ ।

वि.सं. १७२८ ताका नाला भक्तपुरको अधिनमा थियो । यहाँ राजा जगतप्रकाश मल्ल थिए । कान्तिपुरमा भने प्रताप मल्ल राजा थिए । उनले पनि नालामा शासन गरे । तर कति समय गरे भन्ने प्रमाण पाइएको छैन । जे होस् उनले वि.सं. १७२७ मा “रानीपोखरी” निर्माण गरी सकेर नाला र आसपासका क्षेत्र कब्जा गरे । त्यतिबेला ललितपुरका राजा श्रीनिवास मल्लको शरण जगतप्रकाश मल्ल पुगे र दुवै मिली राति नै गएर नाला प्रताप मल्लबाट फिर्ता लिएपछि यो पुनः भक्तपुरमा गाभिएको देखिन्छ । वि.सं. १७२९ को मंसिरमा जगतप्रकाश मल्ल मरेपछि जितामित्र मल्ल नाला क्षेत्रका राजा भएको पाइन्छ ।

वि.सं. १७९६ मा नाला समेतका राजा रणजित मल्लले ल्याइतेपट्टिका दुईवर्षे छोरालाई “युवराज” घोषित गर्न खोजे । सो कुरा नालावासी जनताहरुले थाहा पाई ब्याइते महारानीका छोरालाई नै युवराज घोषित गर्न दवाव दिए । पछि राजाले प्रजाको दवाव अनुसार गरेपनि रानीलाई दरबार पस्न दिएनन् र उनी माइती नालामै बस्न आइन् । वास्तवमा तिनै युवराज पृथ्वीनारायण शाहका मित वीर नरसिंह मल्ल हुन् । त्यसपछि नेपाल एकिकरणको क्रमम वि.सं. १८१६ मा रणजित मल्लको शासन चलेको बेला रामकृष्ण कुँवरको नेतृत्वमा आएको गोर्खाली फौजले नाला राज्यलाई एकिकरणको मूलधारमा समाहित गराएको थियो । त्यसपछिको एउटा रोचक पक्ष के छ भने वि.सं. १८६२ ताका रणबहादुर शाहको शासनकालमा ब्राम्हण जातिमा पनि मामाकी छोरी विवाह गर्ने र देवरले भाउजू बेहोर्ने प्रथा कायमै थियो । भिमसेन थापाको सल्लाह लिई राजा रणबहादुर शाहले नाला लगायत सात गाउँबाटै यो प्रथामाथि रोक लगाएका थिए ।

यसरी प्राचीनकाल देखि हालसम्म आउँदा नालामा अनेक उथलपुथल भएको अनुमान लगाउन सकिन्छ । बेलाबखत आउने महामारीले समेत नालालाई आक्रान्त पारेका प्रमाणहरु इदाकदा भेटिइरहेका छन् । नालाको पुण्यमति र नन्यमति बीचको भागमा गोरु जोत्न नहुने, ढिकी राख्न नहुने भन्ने चलन अहिलेसम्मै विद्यमान रहेको देखिन्छ ।
साभार ः विश्वनाथ दाहाल
काभ्रे टाइम्स