Saturday, May 25, 2013

टिपनटापन

काठमाडौं उपत्यकासंगैको पर्यटकीय गन्तव्यस्थलको रुपमा रहेको नाला क्षेत्रको पर्यटन प्रवद्र्धन हुन नसकेको अवस्था विद्यमान छ । यसतर्फ सम्बन्धित निकाय, बौद्धिक समूह र स्थानीयवासी लाग्नु जरुरी देखिन्छ ।


नब्बे सालको महाभूकम्पमा नाला क्षेत्रको भू–भागमा पनि निकै क्षति भएको देखिन्छ । उक्त समयमा भत्केका, पुरिएका अमूल्य र इतिहास बोकेका कैयौं मठ मन्दिरको भग्नावशेष, पुरानो शिलापत्र, ताम्रपत्र संकलन तथा प्रकाशन गर्नु अत्यन्त जरुरी देखिन्छ ।


नाला क्षेत्रमा प्रशस्त मात्रामा जलद्रोणीहरु पाइन्छ । तिनै जलद्रोणीले उसबेला खानेपानीको सुविधालाई सहज र सरल बनाएको प्रष्ट थाहा हुन्छ । हाल यिनै जलद्रोणीहरु यत्रतत्र छरिइरहेका छन् । त्यसको उचित व्यवस्थापन गर्ने र सो को अभिलेख राख्ने परम्परालाई प्रोत्साहन दिनुपर्छ । ती जलद्रोणीलाई नेवारी भाषामा “नाः गः” भनिन्छ । यिनै नाः गः बाट “नाला” भन्ने नामाकरण हुन गएको पनि बलियो सम्भावना छ ।


नाला क्षेत्रमा घर तथा भवनहरु बनाउँदा भेटिएका मूर्ति, शिलापत्र तथा विभिन्न कलात्मक ढुङ्गामा तथा ईटामा कुँदिएका टुक्राटुक्रीहरु भेटिएमा सो को संकलन तथा संरक्षण गर्नु अति आवश्यक देखिन्छ । यिनै प्रमाणहरुले थुप्रै तथ्यहरु प्रकाश पार्दछ ।

नालाको दरबार

नालाको दरबार कस्तो छ ? कहाँ छ ? यसको फोटो भए हेर्न पाए हुन्थ्यो भन्नेबारे सबै नालामी दाजुभाइहरुमा खुल्दुली भइरहेको होला । यसबारे हामीले अध्ययन गरी रहेका छौं ।

श्री उग्रचण्डी भगवती मन्दिरबाट दक्षिणतर्फ नालाको दरबार क्षेत्र १ अर्थात “क्वाठ” रहेको उल्लेख गरिएको छ । उक्त स्थान हालको चण्डेश्वरी उच्च मा.वि. रहेको स्थान पर्दछ । चण्डेश्वरी उच्च मा.वि. नजिकै रहेको बारीको नाम हालसम्म पनि जनजिब्रोमा “क्वा किबा” रहेकोले पनि उक्त स्थान दरबार क्षेत्र हो भन्ने बलियो प्रमाण हो भन्न सकिन्छ । दरबारको पश्चिमतर्फ ठूलो सत्तल (वाहा) रहेको छ । त्यसको दक्षिणतर्फ १७ रोपनी खेत दरबार सञ्चालन गर्न विर्ताको रुपमा रहेको दरबारमा बगैंचा समेत रहेको कुरा उल्लेख गरेको पाइन्छ । दरबार कलात्मक ठूलो सात चोक भएको बनाइएको थियो र दरबारमा करीब करीब बीचमा ठूलो इनार पनि रहेको थियो । दरबार नजिकै चारैतर्फ माथि पर्खालमा नागले घेरिरहेको कलात्मक ढुङ्गेधारा रहेको थियो । 

दरबार सञ्चालन गर्न दरबारदेखि दक्षिण बगैंचा र बगैंचाको साथ संगै दक्षिणतर्फ भादगाउँको राजा भूपतेन्द्र मल्लले दश रोपनी खेत विर्ता दिएको उल्लेख गरिएको छ । दरबार नजिकै नालाको प्रवेश द्वार लायकू ध्वाका रहेको थियो जुन अहिले अवशेषको रुपमा हालको चण्डेश्वरी उच्च माविको कम्पाउण्ड पर्खालले थिचेको छ । सो ध्वाका (द्वार) लाई राजकुल ध्वाका भनिन्थ्यो । यिनै ध्वाकाबाट नालामा विवाह अथवा शुभ कार्य गर्दा भित्र प्रवेश गर्ने र बाहिर निस्किने गरिन्छ । यो परम्परा हालसम्म पनि कायमै रहेको देखिन्छ । ध्वाकाहरु मध्ये सर्वश्रेष्ठ राजकुल ध्वाका अर्थात लायकू ध्वाका हो । कुनै पनि शहर वा देशको शोभा भनेकै त्यतिखेर लायकू ध्वाका हो । चाहे पाटनको लायकू ध्वाका होस्, चाहे भक्तपुरको लायकू ध्वाका होस् । ती ध्वाकामा नेवारी पूजाआजाको प्रतीक स्वरुपम विभिन्न चित्रात्मक चित्र वा मूर्ति कुँदिएको हुन्छ । 

राजा बसेर शासन चलाउने दरबार नै लायकू हो । लायकू भनेको राजकुल अथवा लालकुल(लालकुलबाट लायकू शव्दको उत्पत्ति भएको) हो । लायकू शव्द मल्ल शासनको मध्यकालदेखि चल्दै आएको पाइन्छ । आफ्नो देशको सुरक्षाको लागि ठूलो ढुङ्गाको पर्खालले सातवटा प्रवेशद्वार, अष्टमातृका गणहरुले घेरिएको राज्य खडा गरेका थिए । राजा बस्ने ती राजगृहहरु पनि लायकू नै थिए । ती दरबारमा देश नायक वा क्वाथ नायक बस्ने गरेको हुन पर्दथ्यो । त्यही दरबारबाट दशैं, नवदुर्गा जस्ता पर्वमा विभिन्न विधिको पूजा हुने गर्दथ्यो तथापि हालसम्म पनि केही चलनमा रहेको पाइन्छ, खासगरी मल्लकालीन दरबारहरुका क्षेत्रभित्र नाटक मञ्चन गर्न डबली, पानीका लागि पोखरी, इनार र ढुङ्गेधारा, धार्मिक पूजाआजाका लागि लक्ष्मी, सरस्वती, गणेश, कुमार, भगवती, तलेजु, नारायण, शिवपार्वती, कुमारी जस्ता देवी देवताहरु स्थापना गरिएको हुन्थ्यो । मुख्य दरबार बाहिर कलात्मक पाटी पौवा रहनुका साथै दरबारको मध्य भागतिर प्रमुख राजभवन, गृह्योद्यान (दरबारभित्रको बगैंचा), व्यायामभूमि, स्नानगृह, भान्साघर आहार मण्डप रहेको पाइन्छ । यी सबै चिजहरु नाला दरबारमा पनि अवश्य रहेको हुनु पर्दछ ।

१. नालादेशको परिचय, डा. ज्ञानलाल श्रेष्ठ

काभ्रेका सो¥हखुट्टे पाटीहरु मध्ये नालाको सर्वश्रेष्ठ



बनेपाको तीनधारामा रहेको सो¥हखुट्टे पाटी, धुलिखेलको नारायणस्थानमा रहेको सो¥हखुट्टे पाटी, पनौति अधाटोलमा रहेको सो¥हखुट्टे पाटी, श्रीखण्डपुरमा रहेको सो¥हखुट्टे पाटीहरु मध्ये सर्वश्रेष्ठ र कलात्मक पाटी नाला भगवती मन्दिर छेउको सो¥हखुट्टे पाटी हो । यी पाटीहरु आ–आफ्नो देशको केन्द्रीय स्थलमा निर्माण गरिएको हुन्थ्यो । उक्त पाटीहरुमा न्याय सम्पादन तथा बुद्धिजीवी एवं मान्यजनहरु बसी विविध कार्यक्रम गरिन्थ्यो । साँझतिर दफा भजन खलहरुले भजन गाउने गरिन्थ्यो । आ–आफ्नो इष्ट देवताको भजनलाई प्रमुखता दिइन्थ्यो । विविध चाडपर्वहरुमा हुने साँस्कृतिक कार्यक्रमहरुमा पनि उक्त पाटीको महत्वपूर्ण स्थान हुन्थ्यो जस्तै नवदुर्गा नाच, स्थानीय जात्रा, भजन तथा गायनको प्रशिक्षण, विभिन्न देवी देवताहरुको प्रदर्शन आदि कार्य सम्पादन गर्दा उक्त पाटीहरुको महत्वका साथै शोभा रहन्थ्यो ।

नाला उग्रचण्डी भगवतीको सृष्टिकालको “उत्तरापुर” को भजन

(नेवारी भाषामा लेखिएको भजन)

उत्तरापुर दक्षिण सोसे उग्रचण्डी भगवती
उग्रचण्डी भगवती, उग्रचण्डी भगवती, माई ।।
षेनगुका लाहातिन नाना शस्त्र धारण यासे
शुम्भ निशुम्भ रगतविजे फुतकुम्ह इश्वरी ।।१।।

जव सिद्धी गणाशपति पंचाइनी सहितनं
षव नाथेश्वर कुमार माहाकाल भैरब ।।२।।

जव हनु भैरब षव शारदादेवी
जवल खवल सिंहल निम्ह रसनं आनन्दनं ।।३।।

ब्रम्हायनी महाकाली वारायणी गणदेवी
नण्यमाता पुण्यमाता उत्तरबाहिनी तिरथ ।।४।।

गुप्तबानेश्वर स्थाने नन्दीकेश्वर रिंगे
मनीमय पर्वत महादेव पोखरी ।।५।।

ल्हाल ज्ञानी दासमानी छी पाली भोकपुया
भगवतीया नामध्यान चित्त थीर फोने मां ।।६।।


(इपाटोलको भजनमाला पुस्तकबाट उद्धृत गरिएको)