Thursday, June 23, 2016

काभ्रेको उग्रचण्डी नाला , प्राकृतिक तथा तिर्थ पर्यटनको सम्भावना

-    रत्नप्रसाद अनामणि श्रेष्ठ

नेपाल प्राकृतिक रुपले मात्र नभई संस्कृतिक रुपमा पनि सम्पन्न देश हो नेपाललाई मन्दिरै मन्दिरको देशको रुपमा विश्वमा चिनिन्छ नेपालको प्रत्येक भू-भाग हिमाल देखि तराई सम्म पुर्व देखि पश्चिम सम्म धार्मिक आस्थाका केन्द्रका रुपमा लिइन्छ हरेक गाउँ बस्तीहरुमा आ आफ्नै रमाइलो तथा रोचक बिस्वास गर्ने पर्ने लोक किम्बदन्तिहरु सुन्न पाइन्छ प्रत्येक नेपालीहरु आ-आफ्नै पूर्वजहरुले पछ्याएको धर्म र संस्कृति प्रति प्रगाढ आस्था र बिश्वास राख्दछन् आ आफ्नो गच्छे अनुसार परम्परादेखि मानिआएका पर्वहरु दुख सुखका साथ मनाउछन् नेपालमा मान्दै आएका ठुला होस वा साना होस , सबै जसो चाडपर्वहरु धार्मिक आस्थाका आधारमा मान्दै आएका छन् ती चाडपर्वहरुले आ आफ्नो पारिवारिक भेटघाट देखि आफ्नो नाता कुटुम्बहरुको सम्बन्ध कसिलो बनाउदै आफ्ना दुख पीडाहरु भुलाउने गरेका कुराहरु जगजाहेर छ

नेपालमा धेरैजसो हिन्दु र बौद्ध धर्म मानिन्छ नेपालमा धेरैजसो हिन्दु र बौद्ध धर्मका आस्थाका केन्द्रहरु धेरै छन् काभ्रे जिल्लाको उग्रचण्डी नाला क्षेत्र पनि ती दुवै आस्थाका केन्द्र रहेको स्थान हो बौद्ध धर्मावलम्बीहरुका लागि नेपालका चार प्रख्यात करुणामय मध्ये श्री श्रृष्टीकान्त लोकेश्वोर करुणामय छन् भने हिन्दु धर्मावलम्बीहरुका लागि नेपालका चार प्रसिद्द भागवती मध्ये एक श्री उग्रचण्डी भगवती रहेको छ यी दुवै हिन्दु र बौद्ध धर्मावलम्बीहरुले समान आस्थाहरुले आ आफ्नै तरिकाले पुजा अर्चना गर्छन यी दुवै प्रसिद्द धार्मिक केन्द्रलाइ तिर्थ पर्यटनको गन्तब्य स्थानको रुपमा बिकसित गर्न सके यस क्षेत्रको मात्र विकास नभई नेपालको अर्थतन्त्रमा समेत प्रभाव पार्दछ छिमेकि देश भारतलाई नै हेर्ने हो भने तिर्थ पर्यटनले धानेका थुप्रै शहरहरु सैयौको संख्यामा पाइन्छन् नेपालमा यसतर्फ खासै ध्यान जान सकेको छैन तिर्थ पर्यटनकै कारणले संसारमा थुप्रै धार्मिक केन्द्रहरु धनी भएका छन् भारतमा सचिक्कै भन्ने हो भने संसारकै धनि मन्दिरहरु छन् , जसको आम्दानीले त्यहाको सहरका बासिन्दाहरु बाचेका हुन्छन् यिनै मन्दिरका आम्दानिहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले देशको अर्थतन्त्रलाई प्रभाव पारेको हुन्छ

काभ्रेको उग्रचण्डी नाला क्षेत्रमा तिर्थ पर्यटनको लागी प्रसस्त सम्भावनाहरु रहेका छन् यस क्षेत्रको तिर्थ पर्यटनको लागि विकास गर्ने हो भने यहाका धार्मिक केन्द्रहरुको भौतिक पूर्वाधारहरु सुधार गर्नै पर्ने हुन्छ यस क्षेत्रका करुणामय उग्रचण्डी भगवती , गुम्बा , प्राकृतिक रुपमा रहेका बनजंगल , चराचुरुंगी , खोला नाला , कृषि परम्परा र पुराना स्थानीय प्रविधिहरुको सहि सुचना दिन सक्नुपर्दछ यहा बग्ने नन्यमाता र पुण्यमाता नदीहरुलाई कन्चन बगाइ राख्न नीति निर्माण गर्नु पर्दछ तिर्थ पर्यटकहरुलाई सत्कार र उनीहरु सग गर्नुपर्ने व्यवहारमा समय सापेक्ष रुपमा सुधार गर्नुपर्दछ यस क्षेत्रमा उत्पादन भएका हस्तकलाका सामाग्रीहरु लगायत , उत्पादित कृषि बस्तुहरु स्वच्छ र अर्गानिक हुनुको साथै किसानको खेतबाट उपभोक्ताको चुलोसम्म पहुच पुर्याउनु नितान्त आवश्यक छ

गुमनाममा रहेको भक्तपुरको डोलेश्वर महादेवको मन्दिरले पाच बर्षको अन्तरालमा निक्कै फड्को मारेको उदाहरण हामी सामु छन् मन्दिरमा भएको आवतजावतले त्यस भेगका करिब दश हजार मानिसहरुको जीवन स्तरमा आमुल परिवर्तन गरिदिएको छ त्यसैले नाला क्षेत्रको पनि सहि सुचना र भौतिक पूर्वाधारले लाभान्वित नहोला भन्न सकिन्न यस क्षेत्रमा रहको प्रसिद्द उग्रचण्डी भगवती र श्रृष्टीकान्त लोकेश्वोर करुणामय मात्र होइन यहा थप्रै कालखण्डमा विभिन्न धार्मिक आस्था बोकेका मठ मन्दिरहरु बिस्तारै लोप हुने अवस्थामा छन् भने धेरै जसो लोप भैसकेका छन् उग्रचण्डी नालाको गुफा , च्यावन ऋषिले तपस्या गरेको स्थान , बिक्रमादित्य राजाले राज्य गरेको दरबार , वासुकी नाग राजा ,गोपाल वंशको उत्पति स्थान , बाल्मिकी ऋषिले तपस्या गरेको स्थान , सो ऋषिले रामायण लेख्दा कलम मसी राख्ने स्थान , ल्हासा अथवा चीन बाट आएको मन्जुश्रीले पहिलो पटक उपत्यकाका पानीको दह देखेको स्थान , ज्ञानसिंह आचाजु र उसका हस्तलिखित पुस्तकहरु , लावान्य देशका नवराज राजा ससुराली जादा हिडेको बाटो , पाँच पाण्डव गुप्त बास बसेको स्थान , नेपालको एकमात्र युधिष्ठिरको मुर्ति , काठमाडौँ पशुपतिनाथको जस्तै नालाको पशुपतिनाथको मुर्ति , नन्यमाता र पुन्यमता नदीहरुको उद्गम स्थान , नाला सहरलाई हेरिरहेको अष्टमातृका गण , एउटा सानो स्थानमा धेरै जलद्रोनी , ढुंगेधारा आदिलाइ हामीले सहि सत्य खोजि गरि तिनीहरुको सुचना र भौतिक पूर्वाधारलाई सुधार गर्ने हो भने नाला क्षेत्र तिर्थ पर्यटनको लागि नेपालको एक उत्कृष्ट गन्तब्य स्थान रहने छ यसतर्फ समयमै यहाका बुद्धिजिबी , राजनीतिज्ञ , भद्र भलादमी , बिद्यार्थी तथा यहाका मानिसहरु लागि पर्नु आजको आवश्यकता र बुद्धिमानी हुनेछ बर्सेनि लाखौ मानिसहरु यस क्षेत्रमा तिर्थ पर्यटककको रुपमा आइ यस क्षेत्रको बासीहरुलाइ प्रत्यक्ष रुपमा लाभ हुनेछ यस क्षेत्रलाइ मात्र नभई नेपालीहरुले बिदा मनाउन विदेश जादा लाग्ने खर्च समेत बच्न गइ नेपालको अर्थतन्त्रमा समेत प्रभाव पार्न सक्छ  त्यसैले काभ्रे जिल्लाको नाला क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्य स्थानको रुपमा विकास गर्नु आजको आवश्यकता तथा अपरिहार्य छ
काभ्रे , नाला
#####


              

Saturday, April 12, 2014

उग्रचण्डी नाला भगवतीमा चढाइएका भाँडाकुँडाहरु

                                       
 
                                                                              –    रत्नप्रसाद अनामणि श्रेष्ठ


    नेपाल एउटा यस्तो देश हो जहाँ घरभन्दा बढी मन्दिर र मान्छेभन्दा बढी देवताका मूर्तिहरु भएको र विश्वको सुन्दर, शान्त, आर्थिकरुपले गरीब र प्राकृतिकरुपमा अति धनी देश हो । यहाँ थुप्रै मन्दिर, विहार, गुम्बाहरु रहेका छन् । ती मन्दिरहरु मध्ये नेपालमा रहेको प्रमुख चार प्रसिद्ध भगवतीहरु मध्ये उग्रचण्डी नाला भगवती मन्दिर पनि एक हो । अझ स्पष्टरुपमा भन्नुपर्दा नेपालको भगवती मन्दिरहरु मध्ये प्यागोडा शैलीको एकमात्र चार तल्ले भगवती मन्दिरको रुपमा लिन सकिन्छ । यस मन्दिरको जीर्णोद्धार हालसालै भएको छ । जीर्णोद्धार हुनुभन्दा अगाडि यस मन्दिरको अगाडिको छानामुनि प्रशस्त मात्रामा घर व्यवहारमा खाना पकाउने भाँडाकुँडादेखि कृषि कार्य गर्ने औजारहरु किला ठोकेर चढाएको पाइन्छ । भक्तजनहरुले आफ्नो मनोकांक्षा पूरा भएपछि देवी भगवतीलाई यसरी चढाउने प्रथा चलेको छ । हुन त यस्ता भाँडाकुँडा तथा औजारहरु पुरुष देवताहरुमा भन्दा देवीहरु (स्त्री देवी) मन्दिरहरुमा पाइन्छ । जनश्रुति अनुसार यस्ता भाँडाकुँडाहरु देवीलाई भक्तजनहरुले दाइजोको रुपमा चढाइएको पनि भन्ने गरिन्छ । आफ्नो भाकल पूरा गर्न वा पूरा भईसकेपछि घरायसी भाँडाकुँडा चढाउने देवस्थलमा बौद्ध, शैव र शाक्त सम्प्रदायका मठ–मन्दिर, विहार अग्रपंक्तिमा रहेका छन् । नाला भगवती तथा करुणामय मन्दिरमा पनि चढाएको पाइन्छ । त्यस्तै चोभारको आनन्दादी लोकेश्वर आदिनाथ, टंगालको भाटभटेनी, कीर्तिपुरको बाघभैरव, ठेचोको बालकुमारी, असनको न्हेँकन्तला लगायत काठमाडौं उपत्यका भित्रका बाहेक उपत्यका बाहिरका मन्दिरहरुमा समेत रहेको पाइन्छ । एउटा अझ रोचक प्रसंग यो छ कि श्रीमान–श्रीमतीबीच सम्बन्ध विच्छेदसम्मको झगडा भएमा उपत्यकावासी विशेषगरी नेवार समुदाय चोभारको आनन्दादी आदिनाथ विहारमा एकमहिनासम्म एक घुट्को जलमात्र पिएर ब्रत बस्ने परम्परा छ । यस परम्परालाई हाल हामी आफ्नो माग पूर्ति गर्नलाई अनशन बस्नेसंग दाँज्न सकिन्छ । वास्तवमा पहिलेका मानिसहरु केही पनि खाद्य पदार्थ नखाई ब्रत बस्न गर्दथे । यही ब्रत परम्पराको विकसित रुप नै अनशनलाई लिन सकिन्छ । आश्विन–कार्तिक महिनातिर पर्ने यस ब्रतमा श्रीमान् वा श्रीमती ब्रत बसेको ठाउँमा लिन गए पुनः घरजम गरी संगै बस्ने गर्दछन् र आदिनाथलाई भाँडाकुँडा चढाउने गरिन्छ भने लिन नगए सम्बन्ध विच्छेद गरी छुट्टाछुट्टै घरजम गरी बस्ने परम्परा छ । यसैगरी टंगालको भाटभटेनी अजिमा केटाकेटी तर्सिएमा पूजा गर्न जाने देवी हुन् । सुतिरहेको बेला पटक–पटक केटाकेटी तसिर्ने गरेमा टंगालको भाटभटेनीको भाकल गर्ने र निको भएमा परम्परागत पित्तल वा तामाका भाँडाकुँडा चढाउने प्रचलन छ । कीर्तिपुर तथा नाला क्षेत्रमा पृथ्बी नारायण लगायत अन्य राजारजौटाहसंग युद्ध हुँदा युद्धमा लुटिएका हतियार ढाल, तरबारहरु बाघभैरव र नाला भगवती मन्दिरमा चढाइएको थियो जुन हिजो आज पनि देख्न सकिन्छ । यसरी हेर्दा उपत्यकामा प्रचलित अनेक देवी देवताको पूजा विधिमध्ये भाँडाकुँडा चढाउने पूजा परम्परालाई पनि एउटा छुट्टै मौलिक संस्कृतिका रुपमा लिइएको पाइन्छ ।
    अतः नेपाली मौलिक संस्कृतिको छुट्टै विशेषता बोकेको यस परम्परालाई बचाई राख्न हाल जीर्णोद्धार गर्दा भगवती मन्दिरबाट निकालिएका यस्ता ऐतिहासिक भाँडाकुँडाहरुलाई संग्रह गरी एउटा संग्रहालयको रुपमा विकास गर्नु पर्दछ । उग्रचण्डी नालाको अभिलेख संग्रह भाग १, रत्नप्रसाद अनामणि श्रेष्ठद्वारा सम्पादित अनामणि प्रकाशन, नाला, काभ्रेद्वारा वि.सं.२०६९ श्रावणमा प्रकाशित पुस्तकको अभिलेख संख्या ५, पृष्ठ १३ मा नाला उग्रचण्डी भगवती मन्दिरभित्र बाहिरी पातामा टाँसिएका तीनवटा ताम्रपत्रहरु मध्ये एकमा नेपाल भाषाको प्रचलित लिपिमा नेपाल सम्बत् ७७१ मा भगवती मन्दिरमा रत्न सिंहले उहाँका मातापिताको नाममा तीनवटा ताहाल प्वं एकवटा चेतवति सिंघ्रमुङ (टीका राख्ने भाँडा) लगायत अन्य सामग्रीहरु चढाएको कुराहरु उल्लेख गरिएको छ । यसबाट पनि यो प्रमाणित हुन्छ कि यस्ता ऐतिहासिक बस्तुहरुलाई संरक्षण गर्नु आजका नालावासीहरुको कर्तव्य हुन आउँछ ।

Saturday, September 7, 2013

नालाको पर्यटन विकासको लागि प्रवद्र्धन समिति गठन गरिनुपर्ने

प्रचुर पर्यटकीय सम्भावना रहेको काभ्रेको उग्रचण्डी नाला गा.वि.स.लाई “पर्यटकीय हब गा.वि.स.” का रुपमा विकास गर्न पर्यटन गुरुयोजना तयार पार्नुपर्ने देखिन्छ । उक्त गुरुयोजना धार्मिक पर्यटन, कृषि पर्यटन, प्राकृतिक पर्यटन विकासका लागि महत्वपूर्ण हुने देखिन्छ । त्यसको लागि गा.वि.स.मा आगामी दिनमा गुरुयोजना तयार गर्न तथा पर्यटन प्रवद्र्धन समिति गठन गरी निश्चित रकम छुट्याउन पहल गर्नुपर्छ ।
नाला गा.वि.स.लाई पर्यटकीय हबका रुपमा विकास गर्न पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार, निर्माण, प्रचारप्रसार, प्राकृतिक स्रोत व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, होम स्टे विस्तार तथा व्यवस्थापन, पर्यटन शिक्षा, सूचना केन्द्र स्थापना लगायत विविध पक्षको अध्ययन तथा अनुसन्धान गर्नु जरुरी देखिन्छ ।

Saturday, July 6, 2013

नालाको प्रजातान्त्रिक योद्धा स्व. भैल श्रेष्ठ

युवा अवस्थामा के जोश आएछ कुन्नि ? जे सामान लानु परेपछि जान तयार भएर हर्ष दाइले बाह्र जना भरियाहरुलाई बोकाएर नभ्याएको केही सामान भरिया सरह आफैले बोक्दा पनि त्यसबेला कठिनाई नभएको अनुभव सुनाए । त्यसबेला उनीहरुले ल्याएका सामानहरुमा पेस्तोल, बन्दुक, वायरलेस सेट, बम ..... आदि थिए । यी सामान ल्याउन भारी बोक्ने एक जना नाला निवासी भैल श्रेष्ठ पनि थिए । उनले बोकेको बम पड्केको भए बाटैमा उनी धुलो पीठो हुन्थे । नेपालमा प्रजातन्त्र आएपछि भैल श्रेष्ठले अरु रोजगारी नपाएर पत्रिका बेचेर जीवन यापन गरे रे । त्यतिमात्र कहाँ हो र, सुनिए अनुसार मर्ने बेलामा काठमाडौंको पाटी बाहेक विश्रामस्थल कहीँ भएन । यस्तो साहसिलो कार्यकर्तालाई न प्रजातान्त्रिक सरकारले, न त काम लगाउने नेताले, न त काँग्रेस पार्टीले वास्ता गरे । विडम्वना ।

राणा सरकारको विरुद्ध चलाउन ल्याइएको हातहतियार संगसंगै नेताहरु गणेशमान सिंह, सुन्दरराज चालिसे र कार्यकर्ता नेपालगञ्जका दिलमान सिंह, दाप्चाका एक जना लामा, नेपालगञ्जकै पूर्ण, महादेवटारको बाटो देखाउने मकर श्रेष्ठ, नालाको भैल श्रेष्ठ र हर्षलाल श्रेष्ठ बाह्रजना भरियाहरका साथमा नेपालभित्र लम्केका संस्मरण हर्ष दाइको मनमा ताजै छ ।

माथि उद्यृत गरिएका पंक्तिहरु आशाकाजी सेवकज्यूले २०५७ चैत्र २८ गते काभ्रे टाइम्स साप्ताहिकमा “जमानाका काँग्रेस हर्षलाल ः एक कर्मशील व्यक्तित्व” शीर्षकमा छापिएको लेखबाट लिइएको हो ।

वि.सं. २००७ सालमा नै बम बोकी हिँड्ने महान सहयोद्धा भैल श्रेष्ठको नाम आज कतै सुन्नमा आउँदैन । ती महान व्यक्तित्वको योगदानको खोजी, कदर र प्रकाशन गर्दै लैजानु पर्ने हो । यस्ता निडर योद्धा व्यक्ति नेपालमा विरलै पाइन्छ । प्रजातन्त्र आएपछि पनि तिनीहरुको कदर भएन । प्रजातान्त्रिक योद्धा कसैको पछि लागि पिछलग्गु बन्न चाहेनन् । शायद जनताको छोराले नेपालमा बम बोक्ने पहिलो उहाँ नै हुनुपर्छ, माथि उधृत लेखलाई राम्ररी अध्ययन गर्दा बाह्र जना भरियाहरु मध्ये एक आँटिलो भरिया भैल श्रेष्ठले मात्र बम बोकेको कुरा स्पष्ट हुन्छ । यस्ता महान योद्धाहरुलाई कुनै पनि पार्टीले केही नगरे पनि हामीहरुले सधैं मनमा राख्नुपर्छ । आगामी दिनहरुमा यसबारे आपूmले थाहा पाएसम्मका सूचनाहरु कृपया हामीलाई पठाउन नभुल्नु होला ।

साँच्चिकै भन्नुपर्दा स्व. केदार प्रधानको शव्दलाई सापटी लिएर भन्ने हो भने “जनताद्वारा गरिएका कामका परिणाम युगान्तकारी परिवर्तन भए तापनि त्यसको चर्चा गरिदैंन । एउटा शासकवंशले अर्को शासकवंशलाई पराजित गरेको मात्र इतिहासका प्रकाशित पुस्तकहरुमा वर्णित छ तर प्रतिरोधमा चलाइएका संघर्षको वर्णन पाइदैंन ।” 

Saturday, May 25, 2013

टिपनटापन

काठमाडौं उपत्यकासंगैको पर्यटकीय गन्तव्यस्थलको रुपमा रहेको नाला क्षेत्रको पर्यटन प्रवद्र्धन हुन नसकेको अवस्था विद्यमान छ । यसतर्फ सम्बन्धित निकाय, बौद्धिक समूह र स्थानीयवासी लाग्नु जरुरी देखिन्छ ।


नब्बे सालको महाभूकम्पमा नाला क्षेत्रको भू–भागमा पनि निकै क्षति भएको देखिन्छ । उक्त समयमा भत्केका, पुरिएका अमूल्य र इतिहास बोकेका कैयौं मठ मन्दिरको भग्नावशेष, पुरानो शिलापत्र, ताम्रपत्र संकलन तथा प्रकाशन गर्नु अत्यन्त जरुरी देखिन्छ ।


नाला क्षेत्रमा प्रशस्त मात्रामा जलद्रोणीहरु पाइन्छ । तिनै जलद्रोणीले उसबेला खानेपानीको सुविधालाई सहज र सरल बनाएको प्रष्ट थाहा हुन्छ । हाल यिनै जलद्रोणीहरु यत्रतत्र छरिइरहेका छन् । त्यसको उचित व्यवस्थापन गर्ने र सो को अभिलेख राख्ने परम्परालाई प्रोत्साहन दिनुपर्छ । ती जलद्रोणीलाई नेवारी भाषामा “नाः गः” भनिन्छ । यिनै नाः गः बाट “नाला” भन्ने नामाकरण हुन गएको पनि बलियो सम्भावना छ ।


नाला क्षेत्रमा घर तथा भवनहरु बनाउँदा भेटिएका मूर्ति, शिलापत्र तथा विभिन्न कलात्मक ढुङ्गामा तथा ईटामा कुँदिएका टुक्राटुक्रीहरु भेटिएमा सो को संकलन तथा संरक्षण गर्नु अति आवश्यक देखिन्छ । यिनै प्रमाणहरुले थुप्रै तथ्यहरु प्रकाश पार्दछ ।

नालाको दरबार

नालाको दरबार कस्तो छ ? कहाँ छ ? यसको फोटो भए हेर्न पाए हुन्थ्यो भन्नेबारे सबै नालामी दाजुभाइहरुमा खुल्दुली भइरहेको होला । यसबारे हामीले अध्ययन गरी रहेका छौं ।

श्री उग्रचण्डी भगवती मन्दिरबाट दक्षिणतर्फ नालाको दरबार क्षेत्र १ अर्थात “क्वाठ” रहेको उल्लेख गरिएको छ । उक्त स्थान हालको चण्डेश्वरी उच्च मा.वि. रहेको स्थान पर्दछ । चण्डेश्वरी उच्च मा.वि. नजिकै रहेको बारीको नाम हालसम्म पनि जनजिब्रोमा “क्वा किबा” रहेकोले पनि उक्त स्थान दरबार क्षेत्र हो भन्ने बलियो प्रमाण हो भन्न सकिन्छ । दरबारको पश्चिमतर्फ ठूलो सत्तल (वाहा) रहेको छ । त्यसको दक्षिणतर्फ १७ रोपनी खेत दरबार सञ्चालन गर्न विर्ताको रुपमा रहेको दरबारमा बगैंचा समेत रहेको कुरा उल्लेख गरेको पाइन्छ । दरबार कलात्मक ठूलो सात चोक भएको बनाइएको थियो र दरबारमा करीब करीब बीचमा ठूलो इनार पनि रहेको थियो । दरबार नजिकै चारैतर्फ माथि पर्खालमा नागले घेरिरहेको कलात्मक ढुङ्गेधारा रहेको थियो । 

दरबार सञ्चालन गर्न दरबारदेखि दक्षिण बगैंचा र बगैंचाको साथ संगै दक्षिणतर्फ भादगाउँको राजा भूपतेन्द्र मल्लले दश रोपनी खेत विर्ता दिएको उल्लेख गरिएको छ । दरबार नजिकै नालाको प्रवेश द्वार लायकू ध्वाका रहेको थियो जुन अहिले अवशेषको रुपमा हालको चण्डेश्वरी उच्च माविको कम्पाउण्ड पर्खालले थिचेको छ । सो ध्वाका (द्वार) लाई राजकुल ध्वाका भनिन्थ्यो । यिनै ध्वाकाबाट नालामा विवाह अथवा शुभ कार्य गर्दा भित्र प्रवेश गर्ने र बाहिर निस्किने गरिन्छ । यो परम्परा हालसम्म पनि कायमै रहेको देखिन्छ । ध्वाकाहरु मध्ये सर्वश्रेष्ठ राजकुल ध्वाका अर्थात लायकू ध्वाका हो । कुनै पनि शहर वा देशको शोभा भनेकै त्यतिखेर लायकू ध्वाका हो । चाहे पाटनको लायकू ध्वाका होस्, चाहे भक्तपुरको लायकू ध्वाका होस् । ती ध्वाकामा नेवारी पूजाआजाको प्रतीक स्वरुपम विभिन्न चित्रात्मक चित्र वा मूर्ति कुँदिएको हुन्छ । 

राजा बसेर शासन चलाउने दरबार नै लायकू हो । लायकू भनेको राजकुल अथवा लालकुल(लालकुलबाट लायकू शव्दको उत्पत्ति भएको) हो । लायकू शव्द मल्ल शासनको मध्यकालदेखि चल्दै आएको पाइन्छ । आफ्नो देशको सुरक्षाको लागि ठूलो ढुङ्गाको पर्खालले सातवटा प्रवेशद्वार, अष्टमातृका गणहरुले घेरिएको राज्य खडा गरेका थिए । राजा बस्ने ती राजगृहहरु पनि लायकू नै थिए । ती दरबारमा देश नायक वा क्वाथ नायक बस्ने गरेको हुन पर्दथ्यो । त्यही दरबारबाट दशैं, नवदुर्गा जस्ता पर्वमा विभिन्न विधिको पूजा हुने गर्दथ्यो तथापि हालसम्म पनि केही चलनमा रहेको पाइन्छ, खासगरी मल्लकालीन दरबारहरुका क्षेत्रभित्र नाटक मञ्चन गर्न डबली, पानीका लागि पोखरी, इनार र ढुङ्गेधारा, धार्मिक पूजाआजाका लागि लक्ष्मी, सरस्वती, गणेश, कुमार, भगवती, तलेजु, नारायण, शिवपार्वती, कुमारी जस्ता देवी देवताहरु स्थापना गरिएको हुन्थ्यो । मुख्य दरबार बाहिर कलात्मक पाटी पौवा रहनुका साथै दरबारको मध्य भागतिर प्रमुख राजभवन, गृह्योद्यान (दरबारभित्रको बगैंचा), व्यायामभूमि, स्नानगृह, भान्साघर आहार मण्डप रहेको पाइन्छ । यी सबै चिजहरु नाला दरबारमा पनि अवश्य रहेको हुनु पर्दछ ।

१. नालादेशको परिचय, डा. ज्ञानलाल श्रेष्ठ

काभ्रेका सो¥हखुट्टे पाटीहरु मध्ये नालाको सर्वश्रेष्ठ



बनेपाको तीनधारामा रहेको सो¥हखुट्टे पाटी, धुलिखेलको नारायणस्थानमा रहेको सो¥हखुट्टे पाटी, पनौति अधाटोलमा रहेको सो¥हखुट्टे पाटी, श्रीखण्डपुरमा रहेको सो¥हखुट्टे पाटीहरु मध्ये सर्वश्रेष्ठ र कलात्मक पाटी नाला भगवती मन्दिर छेउको सो¥हखुट्टे पाटी हो । यी पाटीहरु आ–आफ्नो देशको केन्द्रीय स्थलमा निर्माण गरिएको हुन्थ्यो । उक्त पाटीहरुमा न्याय सम्पादन तथा बुद्धिजीवी एवं मान्यजनहरु बसी विविध कार्यक्रम गरिन्थ्यो । साँझतिर दफा भजन खलहरुले भजन गाउने गरिन्थ्यो । आ–आफ्नो इष्ट देवताको भजनलाई प्रमुखता दिइन्थ्यो । विविध चाडपर्वहरुमा हुने साँस्कृतिक कार्यक्रमहरुमा पनि उक्त पाटीको महत्वपूर्ण स्थान हुन्थ्यो जस्तै नवदुर्गा नाच, स्थानीय जात्रा, भजन तथा गायनको प्रशिक्षण, विभिन्न देवी देवताहरुको प्रदर्शन आदि कार्य सम्पादन गर्दा उक्त पाटीहरुको महत्वका साथै शोभा रहन्थ्यो ।